एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सुरक्षाका लागि सक्रिय कुटनीति र सैन्य प्रतिरोध गर्नुपर्ने बताएका छन्।
उत्तर कोरियाली सत्तारुढ दल वर्कर्स पार्टीको उच्चस्तरीय राजनीतिक सम्मेलनमा किमले यस्तो बताएका हुन्। सम्मेलनले अमेरिकासँगको आणविक कुटनीतिमा भएको परिवर्तनलाई वैधानिक बनाउने अपेक्षा पनि गरिएको छ।
उक्त सम्मेलन मंगलबार चौथो दिन पनि जारी रहने बताइएको छ। सात घण्टा लामो भाषणमा उनले उत्तर कोरियाली अर्थतन्त्रको पुनर्निमाणका लागि राष्ट्रिय उद्देश्य जारी गरेका छन्। यस क्रममा उनले देशको सुरक्षा, सार्वभौमसत्ताको लागि ‘सक्रिय र सशक्त राजनीतिक, कुटनीतिक र सैन्य प्रतिरोधको दस्तावेज’ सार्वजनिक गरेका थिए।
बुधबार किमले नयाँ वर्षको सन्दर्भमा आर्थिक र सुरक्षा नीतिमा गरिएको परिवर्तन घोषणा गर्ने अपेक्षा गरिएको छ। केही विज्ञहरु भने किमले अमेरिकासँगको आणविक वार्ता स्थगितको घोषणा गर्नसक्ने जनाएका छन्।