काठमाडौँ– नयाँ सिमकार्ड खरीद गर्ने ग्राहकका लागि नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ। जसअन्र्तगत जीएसएम तथा सीडीएमए प्रिपेड सिमकार्ड खरिद गर्ने ग्राहकका लागि कम्पनीले ब्यालेन्स सहित टक टाइम, एसएमएस र डाटा प्याकेज सहितको नयाँ अफर ल्याएको हो।
आउँदो बुधबार देखि लागु हुने नयाँ अफर अनुसार अब नयाँ सिमकार्ड किन्ने ग्राहकले १० रुपैयाँ ब्यालेन्स, ६० एमबी डेटा र २० ओटा म्यासेज सहितको प्याकेज पाउनेछन्। यस अघि नयाँ सिमकार्ड किन्नेलाई ५० रुपैयाँ ब्यालेन्स मात्रै दिइने गरिएको थियो।
नयाँ सुविधा अनुसार ग्राहकहरुले नयाँ सिमकार्डसँगै प्राप्त १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस गर्न, डाटा चलाउन सक्नेछन् भने ४० मिनेटको टकटाइम र २० ओटा एसएमएस कम्पीको नेटवर्क्भित्र मात्र प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
यस अघि सिम खरीद गरेर बुधबार वा त्यसभन्दा पछि एक्टिभ गर्ने ग्राहकले समेत नयाँ सुविधा प्राप्त गर्ने बताइएको छ। सिमकार्ड खरिदमा नयाँ सुविधा थप भए पनि यसको मूल्य भने ९० रुपैयाँ यथावत नै राखिएको छ।