काठकाडौं– जलवायु परिवर्तनका कारक मानिने कार्बन डाइअक्साइड, मिथेन, सल्फर मोनोअक्साइडजस्ता थुप्रै ग्यास हुन्छन्। त्यसमध्ये कार्बडाइअक्साइड प्रमुख ग्यास हो। त्यसलाई घटाउन वनजङ्गलले महत्वपूर्ण भूमिका खेल्छ।
कार्बन व्यापार भनेको कार्बनडाइअक्साइडलाई घटाई त्यसबापत रकम भुक्तानी पाउने प्रणाली हो। विकसित तथा औद्योगिक मुलुकहरुमा बढी उद्योग हुने भएकाले उनीहरु आफैँ कार्बन घटाउन चाहँदैनन्। नेपालजस्ता विकासोन्मुख मुलुकले वनजङ्गलमार्फत कार्बन घटाउने र विकसित मुलुकको दायित्ववापत रकम भुक्तानी लिने गर्दछन्।
कार्बन व्यापारमा रेडप्लस महत्वपूर्ण कार्यक्रम हो। रेडप्लस कार्यक्रमअन्तर्गत वन विनाश वा अतिक्रमण रोक्ने, वनको क्षयीकरण वा हैसियत बिग्रन नदिने, दिगो वन व्यवस्थापन गर्ने, वनबाट कार्बन उडेर जान नदिने र वृक्षरोपण गरेर कार्बनको सञ्चितीकरण गर्ने गरिन्छ।
ती पाँच कार्यले वायुमण्डलको कार्बनडाइअक्साइड सोसेर वनजङ्गलमा आउँछ। वनजङ्गलबाट कार्बनडाइ अक्साइड उडेर जान पाउँदैन। कार्बन जति सञ्चित हुन्छ त्यो हिसाब गरेर पाउने रकम भुक्तानी नै कार्बन व्यापार भएको रेडप्लस कार्यान्वयन केन्द्रले जनाएको छ। रासस