जनकपुर–जनकपुरमा नक्कली चुरोट बेच्ने एक पसलेलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको बलबा नगरपालिका –२ घर भइ हाल जनकपुरधाम –८ बस्ने रमेशकुमार साह पक्राउ परेका हुन्।
जनकपुरको रामानन्द चोकस्थित साहको पसलबाट आठ बट्टा सूर्या चुरोटसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर उमाशंकर साहले जानकारी दिए। नक्कली चुरोट बेचेर आन्तरिक राजश्व छलेको अभियोगमा उनलाई पक्राउ गरी सम्बन्धित निकायमा जिम्मा लगाउने तयारी गरेको इन्सपेक्टर साहले जानकारी दिए।
चालु आर्थिक वर्षमा मात्रै भारतीय नाका हुँदै करिब २० करोड रुपैयाँ बराबरको राजश्व चोरी गरी सूर्तिजन्य पदार्थ नेपाल भित्र्याइएको इन्सपेक्टर साहको भनाइ छ। पछिल्लो केही समययता आन्तरिक राजश्व छल्ने विभिन्न गतिविधि मौलाउन थालेपछि त्यसको नियन्त्रणमा प्रहरी गम्भिर भएको र अभियान अन्तर्गत नै नक्कली चुरोट बेच्ने पक्राउ परेको उनले बताए।