काठमाडौँ– रोगको उपचार गरेर निको गराउनुभन्दा रोग लाग्न नै नदिनु सबैभन्दा ठूलो बुद्धिमत्ता हो। यदि रोग लागिहाल्यो भने समयमै परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ।
सामान्य अवस्थामा पाठेघरको क्यान्सरमा शरीरमा कोषहरू बन्ने र निश्चित समयपछि आफैँ नष्ट भइरहेको हुन्छ। कुनै कारण यो प्रक्रिया रोकियो भने अनियन्त्रित रूपमा कोष विभाजन भएर ट्युमर (क्यान्सर) हुन्छ।
ट्युमरमा रक्त प्रभाव नहुने भएकाले अङ्गविशेषले निश्चित आकार ग्रहण गर्न नसक्ने, कुहिने, वरिपरिको भागमा ट्युमर फैलिने र बाह्य सतह छेडिने चिकित्सक बताउँछन्। विवाहित यौनजीवनसँग आबद्ध महिलामा पाठेघरको मुखको क्यान्सर हुनसक्छ। नेपालमा वर्षेनि कति महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ र कतिको मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क छैन।
साधारणतया यो रोग ४० वर्षपछि देखा पर्ने भए पनि नेपाल लगायतका अविकसित देशमा ३० वर्षभन्दा कम उमेरका महिलामा समेत यो रोग देखिने गरेको छ। पाठेघरको मुखको क्यान्सरको मुख्य कारक हो– ह्युमेन पापिलोमा भाइरस। साधारण किसिमको मानिने यो भाइरस यौन कार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलाको जीवनमा कम्तीमा एक पटक सङ्क्रमित हुने मानिन्छ।
पाठेघरको क्यान्सर कम उमेरको यौन सम्पर्क, कम उमेरमा गर्भधारण, एकभन्दा बढीसँग यौन सम्पर्क राख्नु, उचित सरसफाइको अभाव, सूर्तीजन्य पदार्थको सेवन र गुप्ताङ्गसम्बन्धी अन्य खाले दीर्घरोगी महिलालाई हुने जोखिम बढी हुन्छ।
महिनावारी रोकिइसकेका महिलामा फेरि रगत वा रगत मिसिएको योनीश्राव देखिनु, यौन सम्पर्कपश्चात् रगत आउनु र यौनाङ्गबाट असामान्य प्रकारको गन्हाउने श्राव निस्कनु पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण भएको चिकित्सक बताउँछन्।
यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न, तर दुख्न थाल्दा क्यान्सर फैलिसकेको हुन्छ। यो रोग निकै फैलिइसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि लक्षण देखिन्छ। सरकारी तवरबाट देशैभरका महिलालाई समय–समयमा परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ।
शहरी क्षेत्रमा जनचेतनाका कारण केही महिलाले परीक्षण गर्ने गरेको भए पनि अधिकांश महिलाले परीक्षण गरेको पाइँदैन। हल्का रूपमा यसलाई नलिई समय–समयमा परीक्षण गर्नुपर्छ। जनवरीलाई विश्वमा पाठेघरको मुखको क्यान्सर सचेतना महिनाका रूपमा लिने गरिन्छ।