महोत्तरी– दुई साताभन्दा बढी चिसो स्याँठ र मुटु कमाउने जाडो खेपेका महोत्तरीवासी मौसम सफा हुँदै गएपछि सामान्य हुँदैछन्। सोमबारयता क्रमशः पारिलो घाम लाग्दै हुस्सु घटेर स्याँठ चल्ने क्रम पातलिँदै गएपछि यहाँको जनजीवन सामान्य हुँदै गएको हो।
गत मङ्सिर २७ गते रातभरि पानी परेपछि एक्कासि बढेको जाडोले महोत्तरीसहित मध्यपूर्वी तराईको जनजीवन निकै कष्टकर बनेको थियो। दिनभरि बाक्लो हुस्सु लाग्ने र रातभरि तुषारो परिरहेपछि गत सोमबार अघिसम्म घर बाहिर निस्कन निकै सकस थियो। सोमबार मध्याह्न पारिलो घाम देखिएयता लगातार मौसम सफा हुँदै गएको छ।
चिसो स्याँठ र राति तुषारो पर्न छाडेपछि जाडो निकै घटेको यहाँका सर्वसाधारणले बताएका छन्। आज बिहानै घाम देखिएपछि अन्तर्रा्ष्ट्रिय प्रचलनको इश्वी संवत्को नयाँ वर्ष मनाउनेको चहलपहल जताततै देखिएको छ। यसपालि महोत्तरीमा गत शनिबार सबैभन्दा चिसो बढेको थियो।
सो दिन महोत्तरी, धनुषा, सिरहा र सर्लाहीसहितका जिल्लामा तापक्रम चार डिग्री सेल्सियसभन्दा तल झरेको जनकपुर विमानस्थलको तापमापन सूचना केन्द्रले जनाएको थियो। यसपालि महोत्तरीमा बढेको चिसोले अधिकांश विद्यालय बन्द गरिएका थिए भने बजारु चहलपहल पनि स्वात्तै घटेको थियो।
अहिले मौसममा सुधार देखिएपछि ज्यालादारी गरेर गुजारा चलाउने मजदुर अब काममा जान पाउने आशले खुशी देखिएका छन्। यससँगै कृषिकार्य र पशुपालन व्यवसायलाई पनि अब राहत हुने किसानले आश पालेका छन्। (रासस)