काठमाडौं– हाम्रो शरीरमा सामान्यतः तीन प्रकारका रक्तकोषिका हुन्छन्। एक–सेतो रक्तकोषिका, दुई रातो रक्तकोषिका र तीन, प्लेटलेट्स। यी तीन रक्तकोषिकामध्ये सेतो रक्तकोषिकाले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन र बाह्य सङ्क्रमणबाट शरीरलाई रक्षा गर्न मद्दत्त पुर्याउँछ।
जब शरीरमा सेतो रक्तकोषिकाको मात्रा कमी हुन्छ, तब अनेकन् रोगले सङ्क्रमण गर्न थाल्छ। अर्थात्, शरीरको रोगप्रतिरोधात्मक क्षमता घट्छ। स्वास्थ्यवर्द्धक खानेकुरा तथा नियमित औषधि सेवनले यो कोशिकाको मात्रा बढाउन सकिन्छ।
शरीरमा सेतो रक्तकोषिकाको मात्रामा कमी भएका व्यक्तिलाई ल्युकोपिनिया नामक समस्या हुनसक्छ। यो समस्या भएमा रोगबाट लड्ने शरीरको शक्तिमा कमी हुने हुन्छ र एड्स, क्यान्सर, हेपाटाइटिसजस्ता रोग लाग्ने सम्भावना बढ्न थाल्छ। भिटामिन ए, सी र ईले सेतो रक्तकोषिकालाई सही तरिकाले काम गर्न मद्दत गर्नुका साथै यिनीहरूको संख्या बढाउनसमेत मद्दत गर्छ।
त्यसैले यसको सेवनद्वारा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र रोग लाग्नबाट बच्न सकिन्छ। यसका लागि गाँजर, गोलभेडा, खुर्सानी, जैतुनको तेल, बदाम र सुन्तला खाने गर्नुपर्छ। साथै, लसुन, ग्रीन टी, जिंक, दही र हरियो सागसब्जी खानाले पनि सेतो रक्तकोषिकाको मात्रा बढाउन सकिन्छ।