बनेपा– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र वडा नं ९ को संयुक्त आयोजनामा पलाञ्चोकका किसानलाई २५ वटा हाते ट्याक्टर वितरण गरिएको छ। पाँचखाल नगरपालिका–९ को कार्यालयमा मङ्गलबार कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेश खरेलले स्थानीय कृषकलाई ट्याक्टर वितरण गरेका हुन्।
ट्याक्टर हस्तान्तरण गर्दै नगर प्रमुख खरेलले कृषिमा यान्त्रिकीकरण र व्यवसायीमा आधुनिकीकरण गर्ने उद्देश्यले ट्याक्टर वितरण गरेको बताए। सो क्रममा किसानलाई सामग्रीको उचित प्रयोग गरी आम्दानीमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्। उनले अनुदानमा पाएको भनेर दुरुपयोग नगरी कृषिलाई आधुनिकी करणसँग जोडेर उत्पादन बढाउन प्रयोग गर्न अनुरोधसमेत गरेका छन्।
पाँच जनाको समूह बनाएर वितरण गरिएको ट्याक्टरले १०० कृषक परिवारलाई समेट्ने वडाध्यक्ष किरण श्रेष्ठले बताए। ५० प्रतिशत अनुदानमा कृषकले रु २० हजार ५०० तिर्ने गरी उपलब्ध गराइएको उनको भनाइ छ। किसानको समूह गठन गरी ती ट्याक्टर वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
वडा नं ९ ले यसअघि पनि २७ वटा हाते ट्याक्टर वितरण गरेको थियो भने नगरपालिकाको–६ ले पनि यसअघि हाते ट्याक्टर वितरण गरिसकेको छ। त्यस्तै नगरपालिकाको समन्वयमा वडा नं ४ मा पनि हाते ट्र्याक्टर वितरण गर्ने तयारीमा लागेको पाँचखाल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोकनारायण भण्डारीले जानकारी दिएका छन्। रासस