काठमाडौं– केही बर्ष अगाडि देखि नेपाली चलचित्र क्षेत्रमा कमेडी कथा हाबी हुदैं आएका छन्। अझ, हाँस्य कलाकारहरुको टिमले बनाएको चलचित्रले व्यापारिक रुपमा पनि त्यतिकै सफलता पाइरहेका छन्। यसैले, पनि हाँस्य कलाकारहरुले बनाएका चलचित्र भन्ने वित्तिकै सफल हुन्छन् भनेर अड्कल लगाइन्छ।
छायाँङ्कन प्रारम्भदेखि नै चैत्र ७ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘लक्का जवान’ अब चैत्र २१ मा रिलिज हुँदैछ। निर्माण टिमले दुई सातापछि चलचित्र धकेल्दा के फाइदा होला त? जबकी, मह जोडीले अभिनय गरेको चलचित्र शत्रु गते चैत्रको दोश्रो सातामा रिलिज हुँदा नै सुपरहिट भएको थियो। शिवहरि पौड्यालको निर्देेशनमा तयार भएको यो चलचित्रको टिमले चैत्रको दोश्रो साता पर्ने एसइइ परिक्षालाई ध्यानमा राखेर चलचित्रको रिलिज मिति पछि सारेको हो।
चलचित्रमा किरण केसी, शिवहरि पौड्याल, दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रियंका कार्की मुख्य भूमिकामा छन्। यो चलचित्र चैत्र २१ मा सोलो रिलिज हुँदैछ। त्यसको एक सातापछि नयाँ बर्षको बिदाको फाइदा पनि यो चलचित्रले उठाउने आशा निर्माण पक्षको छ। हुनत, चैत्र २८ गते दुइवटा नेपाली चलचित्र रिलिज हुँदैछन्। तर, केही शोजहरु दोश्रो सातामा पनि पाउने र यसको फाइदा नयाँ बर्षमा हुने अपेक्षा निर्माताको छ।
यो बर्ष मह जोडीको ‘दाल भात तरकारी’, दीपकराज गिरी र उनको टिमको ‘छ माया छपक्कै’ रिलिज भईसकेका छन्। अब, हाँस्य कलाकारको टिमले बनाएको ‘सेन्टी भाइरस र लक्का जवान’ रिलिजको प्रतिक्षा दर्शकमा छ। साथै दर्शकले राम्रै अपेक्षा गरिरहेका छन्।