काठमाडौँ– यति बेला नियामक नेपाल दूरसञ्चार प्राधिकरण इन्टरनेटको ‘स्पिड’ नाप्न छुट्टै एप बनाउने तयारीमा छ। मोबाइल तथा फिक्स्डलाइन इन्टरनेटको गुणस्तर सहित स्पिड नाप्न सकिने गरी निर्माण भइरहको एप अबको एक महिनामै परीक्षण गरिने भएको हो।
अबको एक महिनाभीत्रै एप परीक्षणमा लैजाने गरी काम भइरहेको प्राधिकरणका उपनिर्देशक विनोदचन्द्र श्रेष्टले जानकारी दिए। प्राधिकरणले एप निर्माण गर्ने जिम्मा निरेखा नामक कम्पनीलाई दिएको छ। प्रयोगकर्ताले एपको प्रयोग मार्फत इन्टरनेटको स्पिड जाँच्न सक्नेछन्। बजारमा थुप्रै स्पिड टेस्टर एप तथा सफ्टवेयरहरु भए पनि यो एप चाहिँ नेपालको इन्टरनेट नियमनको आधिकारिक एप हुन श्रेष्टले बताए।
यसको प्रयोग गरी इन्टरनेटको स्पिडका साथै सेवा प्रदायकको नाम, इन्टरनेट जोडिएको ठेगाना, लेटेन्सी, डाउनलोड तथा अपलोड स्पिड, डाउनलोड तथा अपलोड सफलताको दर, ब्राउजिङमा हुने ढिलाई लगायतको जानकारी लिन सकिने उपनिर्देशक श्रेष्ठले जानकारी दिए।