काठमाडौं– सरकारले सङ्घीय राजधानी काठमाडौंमा बुधवार एउटा विशेष समारोह आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० औपचारिक रूपमा आरम्भ गर्दैछ।
भ्रमण वर्षका सञ्चार संयोजक पिताम्बर सिग्देलका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त योजनाको दशरथ रङ्गशालामा दिउँसो ४ बजे उद्घाटन गर्नेछिन्।
सङ्घीय सरकारका साथै प्रदेश सरकारहरूले पनि विभिन्न स्थानमा भ्रमण वर्षको उद्घाटन गर्दैछन्। सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सरकारले भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो।
यस्तो छ कार्यक्रम
सञ्चार संयोजक सिग्देलका अनुसार पर्यटन व्यवसायसँग सम्बन्धित र अन्य सामाजिक सङ्घसंस्थाहरू झाँकीसहित त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पुग्नेछन्।
जनकपुर, लुम्बिनी लगायत देशका प्रमुख धार्मिक स्थलहरूबाट ल्याइएका दीपको प्रज्वलन गरी राष्ट्रपति भण्डारीले भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने्छिन्।
कसरी आउलान् २० लाख पर्यटक
कार्यक्रममा नेपाली सेनाका चारवटा हेलिकप्टरबाट राष्ट्रिय झण्डा र नेपाल भ्रमण वर्षको झण्डा फहराइनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वागत मन्तव्य राख्नेछन्। कार्यक्रममा सहभागिता जनाउने भारत र चीनसहित पाँच देशका पर्यटनमन्त्रीमध्ये पनि केहीले मन्तव्य राख्ने सञ्चार संयोजक सिग्देलले बताए।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका फरकफरक समूहले विभिन्न भेषभुषा र संस्कृति झल्कने झाँकी तथा नृत्य प्रस्तुत गर्नेछन्। साङ्गीतिक समूह कुटुम्बले परम्परागत वाद्यवादन यन्त्रको प्रयोग गरी एक घण्टा जति प्रस्तुति दिनेछ।

त्यस क्रममा नेपाली सेना र नेपाल प्रहरीका जवानले मार्च पास गर्ने कार्यक्रम रहेको सञ्चार संयोजक सिग्देलले जनाए। उनका अनुसार हालै सम्पन्न तेह्रौँ दक्षिण एशियाली खेलकुद समारोहमा जस्तै आतिसबाजी र लेजर शो पनि गरिनेछ।
नेपाल भ्रमण वर्षको आधिकारिक गीत पनि सोही समारोहमा सार्वजनिक गरिनेछ। महेश खड्काले रचेको गीत प्रतिस्पर्धाबाट चयन गरिएको छ। यसअघि सन् २०११ मा १० लाख विदेशी पर्यटक भित्र्याउने भन्दै घोषणा गरिएको भ्रमण वर्षमा आठ लाख पर्यटकले नेपालको भ्रमण गरेका थिए।
पर्यटनलाई नेपालले विदेशी मुद्राको एक प्रमुख स्रोतका रूपमा पनि लिँदै आएको छ। सन् २०१० मा नेपाल आउने पर्यटकको सङ्ख्या छ लाखको हाराहारीमा थियो, जुन सङ्ख्या २०१९ सम्म पुग्दा १२ लाखमा उक्लिएको छ।

त्यो सङ्ख्यालाई अझै बढाउने उद्देश्य राखेको वर्तमान सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षकै रूपमा घोषणा गरेको थियो। त्यसको उद्देश्यबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भने, “नेपाल एउटा पर्यटकीय गन्तव्य हो र जीवनकालामा एक पटक पुग्नुपर्ने ठाउँ हो भन्ने सन्देश संसारलाई दिन चाहन्छौँ।’’
सङ्ख्याको हिसाबले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएका छौँ र त्योसँगै लगानीका लागि आह्वान गर्ने उपयुक्त अवसर पनि हो,’’ सचिव अधिकारीले थपे।भ्रमण वर्ष व्यवस्थापनका लागि ४० करोड रुपैयाँ माग गरिएकोमा हालसम्म ३० करोड रुपैयाँ दिने कुरा भएको भ्रमण वर्ष सन् २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बीबीसीलाई बताए।

कार्यक्रममा भाग लिन आएका पाहुनाहरूलाई एउटा पर्यटकीय गन्तव्यस्थल घुमाउने कार्यक्रम पनि रहेको अधिकारीहरूले बताएका छन्। तर कतिपयले विदेशी पर्यटक भित्र्याउन विदेशमा नेपालका पर्यटकीय स्थलको प्रचारप्रसारमा ध्यान दिनुपर्नेमा देशभित्र अनावश्यक तामझाम गर्न लागिएको भन्दै सरकारको आलोचना पनि गरेका छन्।
बीबीसी