एजेन्सी– इटलियन कम्पनी इनर्जिका मोटरले ‘फिम मोटोई वर्ल्ड च्याम्पेनसिप’मा आफ्नो नयाँ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ। यो एक पटकको फुलचार्जमा ४०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले दाबी गरेको छ।
इनर्जिकाले अहिले आफ्नो तिन मोडल इगो, इभा र इएसएसई ९ का ५ भेरियन्टमा बजारमा ल्याएको हो। निकै प्रिमियम डिजाइनको यो मोटरसाइकलले १४५ बीएच पावर र २०० एनएम टर्क प्रदान गर्ने जनाएको छ। त्यसमध्यपनि इगो प्लस भेरियन्टले थप १५ एनएम टर्क प्रदान गर्ने जनाइएको छ।
कम्पनीका सबै मोडलमा लिक्विड कुल्ड थ्री फेज परमानेन्ट म्याग्नेट एसी मोटर दिइएको छ। प्लस भेरियन्टमा १८.९ किलोवाट पर आवरको लिथियम आयन पोलिमर व्याट्री दिइएको छ। यसले सहरी क्षेत्रमा ४०० किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी कम्पनीले गरेको छ। साधारण मोडलमा ११.७ किलोवाट पर आवर क्षमताको लिथियम आयन पोलिमर व्याट्री प्रदान गरिएको छ। यसले एक पटकको फुल चार्जमा २३० किलोमिटर रेञ्ज प्रदान गर्नेछ।
सुरक्षालाई विशेष ध्यान दिएर तयार गरिएको यो मोटरसाइकलमा बिभिन्न राइडिङ मोड, बोस्च एबीएस सिस्टम, ट्याक्शन कन्ट्रोल, जिपीएस, व्ल्यूटुथ कनेक्टीभिटी, क्रुज कन्ट्रोल, स्पोर्ट व्याक र पार्क एसिस्ट जस्ता फिचर उपलब्ध रहने छन्।
कम्पनीले यस उत्पादनलाई अहिले यूरोपियन र अमेरिकी बजारमा केन्द्रित भएर बिक्री वितरण गर्ने जनाएको छ भने सन् २०२० को अन्त्यसम्ममा एसियाली बजारमा प्रबेश गर्ने जनाइएको छ।