काठमाडौं– पछिल्लो समय नेपाली चलचित्र सिरिजको भरमा मात्र चलेका छन्। यो बर्ष हिट भएका चलचित्रहरु सिरिज नै बढी छन्। यो बर्ष बक्स अफिसमा चम्किएका ‘जात्रै जात्रा, कबड्डी कबड्डी कबड्डी’ सिरिज हुन्। ‘छ माया छपक्कै’ ‘छक्का पन्जा’ को ३ सिरिज निर्माण गरेको टिमले बनाएका कारणले पनि दर्शकले पत्याए। रोचक कुरा के छ भने, रिलिज हुने तयारीमा रहेका आशातित चलचित्र पनि सिरिज नै छन्। ‘म यस्तो गीत गाउँछु–२, चपली हाइट–३, प्रेमगीत–३’ पनि सिरिज नै हुन्।
यसैले, यो बर्ष सिरिजको वर्चस्व रहने पक्का जस्तै छ। तर, नेपाली चलचित्रलाई दर्शकले पत्याउन छाडेको अवस्थामा नयाँ नाममा बनेका चलचित्र चल्नै छाडेका छन्। यसैले पनि होला, निर्माताहरु आफ्नो हिट सिरिजमै चलचित्र निर्माण गर्न कस्सिएका छन्आउँदो बर्ष पनि सिरिजकै वर्चस्व रहने देखिन्छ। आउँदो बर्षका लागि निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले ‘ए मेरो हजुर–४’ को घोषणा गरिसकेका छन्। यो हिट चलचित्र ‘ए मेरो हजुर’ को चौथो सिरिज हो।
यो नाममा बनेका चलचित्रलाई दर्शकले रुचाएका छन्। चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहनेछन्।चलचित्र ‘छक्का पन्जा–४’ को पनि घोषणा भईसकेको छ। आउँदो बर्षको दशैंलाई रिलिज मिति तय गर्दै दिपकराज गिरी र उनको टिमले हिट चलचित्रको चौथो सिरिज घोषणा गरिसकेको छ। ५ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘परदेशी’ को दोश्रो सिरिज बन्ने पक्का भएको छ। चलचित्रमा प्रकाश सपुत मुख्य नायकको रुपमा छन्।
उनका भाई बब्लुले पनि चलचित्रमा काम गर्दैछन्। यो चलचित्रलाई पनि आउँदो बर्षको दशैंको सेरोफेरोमा रिलिज गर्ने तयारी निर्देशक नारायण रायमाझीको छ। निर्देशक विकास राज आचार्यले चलचित्र ‘नाई नभन्नु ल–६’ बनाउने तयारी गरेको बुझिएको छ। यस्तै, निर्माता सुनिल रावलले ‘होस्टेल ब्याक अगेन’ को नाममा चलचित्र बनाउँदैछन्।
यो बर्ष रिलिज भएका चलचित्र हेर्दा नयाँ नाममा बनेका चलचित्रलाई दर्शकले खासै पत्याएनन्। हिट चलचित्रका सिरिजलाई भने दर्शकको राम्रै साथ मिलेको छ। यसैले पनि, निर्माताले नाम सापटी लिएरै लगानीको जोखिम मोल्न खोजेका छन्। जसले उनीहरुलाई केही राहत अवश्य हुने देखिएको छ।