एजेन्सी– कपिल शर्माको ‘द कपिल शर्मा शो’ मा सक्रिय कलाकार भारती सिंह एक परिचित नाम हो। उनी लगायत केही कलाकारको नाम अहिले निकै बिवादमा आएको छ। बलिउड अभिनेत्री रवीना टंडन, निर्माता फराहा खान र कमेडियन भारती सिंहलाई मुद्दा परेको छ। पन्जाबको फिरोजपुर जिल्ला प्रहरीले यी तीन जनाले धार्मिक असहिष्णुता फैलाएको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो।
रवीना, फराहा र भारतीले एक कार्यक्रममा ‘हालेलुया’ शब्दको मजाक उडाएको आरोप छ। जुन शब्द ईशाई धर्मसँग सम्बन्धित छ। लगत्तै गत शनिबार प्रहरीले उनीहरूविरूद्ध मुद्दा दायर गरेको थियो। यो सातासम्म आइपुग्दा तीन सेलेब्रेटीविरूद्ध तीन वटै उजुरी परिसकेको छ। उजुरीपछि रवीना र फराहाले माफी माग्दै कसैको भावनामा ठेस पुर्याउने आफूहरूको उद्देश्य नरहेको बताएका छन्। उनीहरूले कार्यक्रमको पूरा भिडिओ हेर्न भन्दै कुनै धर्म वा कसैलाई होच्याउने गरी केही नबोलेको बताएका छन्।
उनीहरूले भनेका छन्, हामीले कहिल्यै कसैलाई होच्याउने उद्देश्य राखेका छैनौं। यदि अनजानमा भयो भने पनि हामी माफी माग्छौं। रवीना र फराहाले तीनै जनाको तर्फबाट माफी मागे पनि भारती सिंह भने धेरै चपेटमा परेकी छन्। ‘द कपिल शर्मा शो’ मा देखिँदै आएकी भारतीलाई शोबाट निकाल्नुपर्ने माग उठ्न थालेको छ। सामाजिक सञ्जालहरूमा भारतीलाई तुरून्तै शोबाट हटाउन दबाब दिन थालिएको छ। गत वर्ष पनि फ्यानहरूकै दबाबका कारण कपिल शोबाट नवजोत सिंह सिद्धू हटाइएका थिए।
कश्मिरको पुलवामा भएको आतंकी हमलाबारे सिद्धूले दिएको टिप्पणीलाई सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि शोबाट उनलाई निकालिएको थियो। यो विषयमा सिद्धूको टिप्पणी पाकिस्तानीप्रति नरम भएको भन्दै फ्यानहरूले उनलाई कपिल शोबाट निकाल्न माग गरेका थिए। सिद्धूलाई शोमा राखिरहे शो नै नहेर्ने ट्रेन्ड नै चलेपछि सोनी च्यानलले यो निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन्। सिद्धू हटेपछि अर्चना पुरन सिंह उनको ठाउँमा आएकी थिइन् र हाल शोमा उनै छिन्। अहिले आएर फेरि भारतीलाई कपिल शोबाट निकाल्नुपर्ने माग उठिरहेको छ।