काठमाडौं– माघ पहिलो सातासम्म उखु किसानको बाँकि पैसा तिर्न चिनी मिल सञ्चालकलाई निर्देशन दिइएको छ। सरकारले आन्दोलनरत किसानको मागलाई सम्बोधन गर्दै तोकिएको समयभित्र सबै रकम भुक्तानी गर्न मिल सञ्चालकलाई निर्देशन दिएको हो।
बुधबार मन्त्रालयमा उखु किसानहरुसँग भएको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माघको पहिलो सातासम्म सबै पैसा तिर्न मिल सञ्चालकलाई निर्देशन दिइएको बताएका हुन्। मिल सञ्चालकलाई पुस २५ गतेभित्र ८० प्रतिशत रकम तिर्न भनिएको छ।
त्यस्तै सरकारले तोकेको समय सीमामा पैसा भुक्तान नगर्ने किसानलाई कारबाही गरीने मन्त्री भट्टले जनाएका छन्। एक जना मिल सञ्चालकको मृत्यु भइसकेकाले उनको सम्पत्ति रोक्का गरेर भए पनि किसानलाई पैसा दिलाउने कार्यविधि बनाउन लागिएको भट्टले जनाएका छन्।
सरकारले यस्ता प्रतिवद्धता त यसअघि पनि दिएकोले आश्वासनमा मात्रै भरपर्न नसकिने किसानहरु बताउँछन्। त्यसकारण आन्दोलन जारी राख्ने कि घर फर्किने भन्नेबारे निर्णय हुन बाँकी रहेको वार्तामा सहभागी उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले बताएका छन्।