काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ ‘अन्तरआवद्धता निर्देशिका २०७६’ जारी गर्दै एक सेवा प्रदायकबाट अर्को सेवा प्रदायको नेटवर्कमा कल गर्दा लाग्ने शूल्क घटाएको छ। अब एउटा सेवा प्रदायकको मोबाइल नम्बरबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा प्रति मिनेट ४४ पैसा घट्ने भएको हो।
यसअघि निर्देशिका अनुसार सेवा प्रदायकले आफ्नो नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा बढीमा ५४ पैसा थप गर्न पाउने व्यवस्था थियो। त्यसमा परिवर्तन गरि नयाँ निर्देशिकाले बढीमा १० पैसा मात्रै लिन मिल्ने व्यवस्था गरेको छ।
यो व्यवस्था लागु भएसँगै हाल नेपाल टेलिकम, एनसेल र स्मार्टसेल मध्ये एउटा सेवाप्रदायक कम्पनीको नम्बरबाट अर्को कम्पनीको नम्बरमा कल गर्दा लाग्दै आएको शूल्कमा ४४ पैसा घट्ने प्राधिकरणले जनाएको छ।
यद्यपी सेवाप्रदायकको माग अनुसार प्राधिकरणले यो नियम चार महिना पछि मात्रै लागु गर्नेछ। आउँदो चैत २० गतेबाट मात्रै यो निर्णय लागु हुने प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले बताए।
हाल नेपाल टेलिकमको नेटवर्कबाट अन्य नेटवर्कमा प्रिपेड सिमबाट कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा लाग्छ भने पोस्टपेडबाट गर्दा १ रुपैयाँ लाग्छ। चैत पछि भने उक्त शुल्क घटेर प्रिपेडबाट प्रतिमिनेट १ रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्नेछ।
त्यस्तै एनसेलबाट अन्य सेवा प्रदायकमा कल गर्दा हाल प्रतिमिनेट दुई रुपैयाँ ५४ पैसा लाग्छ। नयाँ निर्दे्शिका अनुसार अब एसेलबाट नेपाल टेलिकम र स्मार्टसेलमा दुई रुपैंया १० पैसा प्रतिमिनेटमै कल गर्न सकिने दूरसञ्चार प्राधिकरणले जनाएको छ।
यस्तै स्मार्टसेलबाट एनसेल र नेपाल टेलिकममा कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ४८ पैसामात्रै लाग्नेछ। हाल स्मार्टबाट अन्य सेवा प्रदायकमा कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ९२ पैसा लाग्दै आएको छ।