काठमाडौं– त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टारलाई २–० ले पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले र सन्तोष तामाङले दोस्रो हाफमा उत्कृष्ट गोल गरे। यससँगै थ्री स्टारले लिगमा पहिलो हार बेहोरेको छ। आर्मी भने लिगमा तेस्रो जितसँगै ९ अंक जोड्न सफल रह्यो। थ्री स्टारको ४ खेलमा २ जित, १ बराबरी र १ हारसहित ७ अंक नै रहेको छ।
इन्ज्युरी समयको पहिलो मिनेटमा विकास तामाङले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि थ्री स्टारले पेनाल्टीको अवसर पायो। रुपेश केसीको पेनाल्टी प्रहारलाई गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे।
रुपेशले आफ्नो बायाँतिर गरेको प्रहारलाई विकेशले डाइभ दिँदै बचाए। त्यसको रिबाउन्डमा सुशील राईको प्रहारमा पनि विकेश बाधक बने।