काठमाडाैं– काठमाडौँ महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन (आज) वसन्तपुर घुम्न आउने पर्यटकलाई बाजागाजा र उपहारसहित स्वागत गरेको छ। सामान्यरूपमा वसन्तपुर घुम्न पुगेका पर्यटक एक्कासि बाजागाजासहित स्वागत र उपहार पाउँदा छक्कै भए। घुम्न आउने पहिलो पर्यटक ब्राजिलका गुस्तव बाटो थिए। उनलाई जुद्ध शालिकतर्फ (काउन्टर १) मा वडा २३ का अध्यक्ष मचाराजा महर्जनले स्वागत गरेका थिए। स्वागत पाउन थालेपछि केही पर्यटक कानेखुशी गर्न थाले भने केही सेल्फी र तस्वीर कैद गर्न व्यस्त देखिए। भ्रमण वर्षको शुभारम्भको दिन आज काउन्टर तीन मरुतर्फबाट वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरले, काउन्टर ४ प्याफलतर्फ वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठले र काउन्टर ५ इन्द्रचोकतर्फबाट वसन्तपुर आउने पर्यटकलाई वडा २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत गरे। अप्रत्याशित स्वागत पाउँदा पर्यटक फोटो खिच्न र भिडियो बनाउन व्यस्त देखिएका थिए। हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यका अनुसार भ्रमण वर्षको पहिलो दिन आज सार्क राष्ट्रबाट ३८ जना र अन्य देशबाट २७२ जना पर्यटकले वसन्तपुरको भ्रमण गरेका छन्। उनीहरुबाट रु तीन लाख ८५ हजार ७०० राजश्व सङ्कलन भएको जनाइएको छ। आज साँझ सङ्घीय राजधानी काठमाडौँस्थित दशरथ रङ्गशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको शुभारम्भ गरिन् भने सोही समयमा सातवटै प्रदेश सरकारले विभिन्न पर्यटकीय क्षेत्रबाट भ्रमण वर्षको शुभारम्भ गरेको छ। भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ। सरकराले आगामी दशकलाई पर्यटन दशकको रुपमा मनाउने तयारी गरेको छ। रासस