काठमाडौं– राष्ट्रियसभा निर्वाचन प्रक्रिया आज (बिहिबार)देखि शुरु भएको छ। निर्वाचन कार्यक्रम अन्तर्गत निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गरेको हो। प्रकाशित नामावलीमा आजै अपरान्ह चार बजेसम्म दावी विरोधको समय तोकिएको छ।
आयोगले शुक्रबार उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशन गर्नेछ। उम्मेदवारी मनोनयन भने आइतबार हुनेछ। मनोनयन दर्ता गरेका उम्मेदबारहरुमाथि उजुरीका लागि २१ गतेको समय निर्धारण गरिएको छ। उम्मेदवारको अन्तिम नामावली भने २५ गते प्रकाशित हुनेछ।
निर्वाचन चिन्ह पनि सोही दिन प्रदान गरिने आयोगले जनाएको छ। निर्वाचन भने माघ ९ गते सातवटै प्रदेशका तोकिएका मतदान केन्द्रमा हुनेछ। प्रदेश १ को वीरेन्द्र सभागृह विराटनगर, प्रदेश २ को महेन्द्र नारायण स्मृति भवन धनुषा र प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा भवन मतदान केन्द्र तोकिएको छ।
गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय पोखरा, प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्र भवन, कर्णाली प्रदेशको सुर्खेत निर्वाचन कार्यालय भवन र सुदूरपश्चिम प्रदेशका लागि डोटीको पद्म पब्लिक मुक्तिनारायण माविलाई मतदान केन्द्र निर्धारण गरिएको छ।