काठमाडौं– किराँती सामुदायले मान्दै आएको यले सम्वत् ५०८० यो बर्ष भब्य उत्सवको रुपमा मनाउन तयारी भइरहेको छ।
किराती समुदायले माघ १ गतेलाई नयाँ सम्वत् मान्दै आएको छ। यो माघदेखि यले सम्वत ५०८० लाग्दैछ। किरात राई यायोक्खा केन्द्रीय समितिले पहिलोपटक राष्ट्रिय सभागृहमा भव्य उत्सवको रुपमा नयाँ बर्ष मनाउन लागेको हो।
पुस १५ गते यायोक्खा केन्द्रीय प्रचार विभागको आयोजनामा कोटेश्वरस्थित कार्यालयमा बसेको बैठकमा केन्द्रीय अध्यक्ष दिवस राईले तयारीबारे जानकारी गराएका थिए। बैठकमा यायोक्खा काठमाडौ अध्यक्ष प्रमिला राई, ललितपुर अध्यक्ष महेन्द्र राई, भक्तपुर सचिव जमिन राई, किरात राई सामोआङ जुम्लेखा नेपालको केन्द्रीय अध्यक्ष हरिके सम्पाङ राई, किरात राई विध्यार्थी संघको केन्द्रीय अध्यक्ष जितेन राई, युवाको महासचिव झिलकुमार राई, खेलकुदको रन्जु राई लगायत भाषिक तथा भातृ सस्थाहरुको प्रतिनिधि सहभागी बैठकले यले नयाँ बर्ष भब्य बनाउन कृयाशील हुने निर्णय भएको हो।
यायोक्खा केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईको सभापतित्वमा भएको बैठकमा कार्यक्रममा जनसहभागिता र थप तयारी बारे छलफल भएको थियो।
बैठकबाट निमन्त्रणा कार्ड वितरण गर्नुको साथै सो सम्बन्धी बनेको अडियो, भिडियोमार्फत ब्यापक बनाउन कृयाशील हुने निर्णय भएको छ। यही अवसरमा प्रजातान्त्रिक पद्धतिबाट २५ बर्ष लामो शासन गर्न सफल भारत सिक्किमको पूर्व मुख्यमन्त्री पवन चाम्लिङ राईलाई किरात राई यायोक्खा नेपालले देशकै प्रतिष्ठित ‘‘हाङ यलम्बर स्मृति सम्मान पुरस्कार ५०८०’’ बाट सम्मान गर्दैछ।पुरस्कारको राशी दुई लाख २२ हजार २२२ रुपैया रहेको छ।
राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा सांगीतिक प्रस्तुतिको साथै उपस्तित सहभागीलाई सेल रोटी, तरुल लगायतको भोजन गराउने सल्लाह भइरहेको यायोक्खा महासचिव जनक राईले बताए। नयाँ सम्वतलाई प्रदेशको नाम किरात राख्ने अभियान र १ गते घरघरमा दीप प्रज्वलन गरेर मनाउन जिल्ला जिल्लामा सर्कुलर भएको छ। यले सम्वत प्रथम हाङ यलम्बरको नाममा स्थापित भएको मिति हो।