चितवन– ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले चितवनका एसपी दानबहादुर मल्ललाई सरुवा भएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ। सरुवा भएको ठाउँमा हाजिर हुन नगएपछि उनलाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिइएको हो।
प्रहरी प्रधान कार्यालयले मल्ललाई गत साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो। प्रदेश प्रहरी कार्यालयले बुधवार साँझ लिखित पत्रमार्फत त्यहाँ कार्यरत डिएसपीलाई चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरवन्दीमा रवाना गरी सोको जानकारी दिन निर्देशन दिएको हो।
सरुवा भएपछि पनि मल्लले चितवन नछोडेको कारण चितवनको प्रहरी प्रमुखमा सरुवा भएकी एसपी गंगा पन्तले जिम्मेवारी सम्हाल्न नपाएकी बताइएको छ। प्रदेश प्रहरी कार्यालयको पत्रअनुसार मल्ल बिहिबार साँझसम्म त्रिभवुन विमानस्थल सुरक्षा कार्यालयमा हाजिर हुनुपर्नेछ।