काठमाडौं– नेपाल पत्रकार महासङ्घले सुनसरी शाखाका पूर्वसभापति अगेंज पत्रकार याम प्रधानको निधनले नेपाली पत्रकारिता क्षेत्रले एकजना अनुभवी र निर्भिक पत्रकारलाई गुमाएको जनाएको छ।
महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै पूर्वको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका प्रधानको निधनप्रति दुःख व्यक्त गरेको छ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित प्रधानको इटहरी–९ भोजपुरे टोलस्थित निवासमा आज बिहान ५२ वर्षको उमेरमा निधन भएको हो। उनका श्रीमती र छोरी छन्।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय प्रधानलाई महासङ्घले २०७३ सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो।
प्रेस युनियन स्तब्ध
नेपाल प्रेस युनियनले राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी याम प्रधानको निधनमा दुःख व्यक्त गरेको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज एक विज्ञप्ति जारी गरी प्रधानको निधनमा दुःख व्यक्त गरेको हो। ‘हाम्रो संस्थाका पूर्व उपाध्यक्ष प्रधानको निधनमा प्रेस युनियन स्तब्ध भएको छ’, विज्ञप्तिमा भनिएको छ।
युनियनले अग्रज पत्रकार प्रधानप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारजनमा समवेदना व्यक्त गरेको छ। नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व सभापतिसमेत रहेका स्वर्गीय प्रधानले सञ्चार क्षेत्रको माध्यामबाट पूर्व क्षेत्रलाई चिनाउन महत्वपूर्ण योगदान दिएको थियो। (रासस)