काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानले उखु बेच्नेबित्तिकै पैसा पाउने वातावरण बनाउने बताएका छन्। बिहीबार राष्ट्रियसभामा बोल्दै उनले उखु जोखेपछि रकम किसानको खातामा जाने ब्यवस्था गर्ने बताएका हुन्।
उखु किसान र चिनी मिलको समग्र समस्या पत्ता लगाउन कार्यदल गठन गरेको भन्दै मन्त्री भट्टले कार्यदलको सुझावको आधारमा सरकार अघि बढ्ने बताए।
उनको अनुसार मिलको गेटमा उखुको हुनेवित्तिकै तुरुन्तै बैंकमार्फत भुक्तानी होस् भनेर कार्यदल गठन गरिएको छ। त्यसले किसानको समस्या पत्ता लगाउँछ, व्यवसायीको समस्या के हो, नेपाल सरकारले गर्नुपर्ने के हो पत्ता लगाउँछ। ‘किसानको ऋण समस्या बाध्यताबारे अध्ययन गरेर मन्त्रालयमा ल्याउँछ। त्यसपछि सरकारले आवश्यक कदम उठाउँछ’ उनले भने।
उद्योगीका मागअनुसार विदेशी चिनी आयातमा प्रतिबन्ध लगाएको भन्दै मन्त्री भट्टले चिनी उद्योगीको समस्या पनि सरकारले हल गर्ने बताए। नेपालका चिनी मिलमा पुरानो मेसिन भएका कारण भारतमा जस्तो थोरै उखुले धेरै चिनी दिन नसकेको भन्दै त्यसमा पनि सुधार गर्नुपर्ने उनको भनाई छ।