एजेन्सी– बिहिबार बिहान नेपालविज्ञ भारतीय नेता डीपी त्रिपाठीको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका त्रिपाठीको ६७ वर्षको उमेरमा नयाँदिल्लीमा भएको हो।
उनको जन्म उत्तर प्रदेशको सुल्तानपुरमा भएको थियो। उनले भारतले नेपालमा गरेको नाकाबन्दीको खुलेर विरोध गरेका थिए। राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता समेत रहेका उनले तत्कालीन विद्रोही माओवादी र राजनीतिक दलहरुबीच १२ बुँदे सहमति गराउन भूमिका खेलेको बताइन्छ।
प्रतिनिधिसभा पुनःस्थापनालगत्तै उनी नेपाल आएका थिए भने पहिलो जनआन्दोलनताका पनि राजीव गान्धीको दूतको रुपमा उनी नेपाल आएका थिए। त्यतिबेला उनले नेपालमा पञ्चायती शासन अन्त्य हुने भविष्यवाणी गरेका थिए।
राजीव गान्धीको प्रिय भए पनि सोनिया गान्धीसँग मत नमिलेपछि उनले कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टीमा लागेका थिए। उनी जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षसमेत थिए। त्रिपाठीले ‘नेपाल ट्रान्जिसन ए वे फरवार्ड’लगायतका धेरै किताबसमेत लेखेका छन्।