काठमाडौं– सन् २०१९ को अन्तिम महिना बलिउडको लागि एकदमै सुखद देखिएको छ। गएको बर्षको डिसेम्बर महिनामा रिलिज भएका २ चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेका छन्। दुबै चलचित्र सय करोड क्लबमा प्रवेश पनि गरेका छन्।डिसेम्बर २० मा रिलिज भएको नायक सलमान खान अभिनित चलचित्र ‘दबंग–३’ ले बक्स अफिसमा १४० करोडको व्यापार गरिसकेको छ। तर, यो चलचित्र सुपरहिट भने हुन सकेन। यस्तै, डिसेम्बर २७ तारिखबाट रिलिज भएको चलचित्र ‘गुड न्यूज’ पनि सय करोड क्लबमा प्रवेश गरेको छ।
रिलिज भएको छैटौ दिनमा चलचित्रले सय करोडको आँकडा पार गरेको हो। चलचित्रले वुधबार नयाँ बर्षको बिदाको दिन भारतीय बक्स अफिसमा २२.५० करोडको व्यापार गरेको छ। चलचित्रले शुक्रबार १७. ५६ करोड, शनिबार २१.७८ करोड, आइतबार २५.६५ करोड, सोमबार १३.४१ करोड, मंगलबार १६.२० करोड र वुधबार २२.५० करोडको व्यापार गर्यो । योसँगै चलचित्रको व्यापार ६ दिनमा ११७ करोड पुगेको छ।
नायक अक्षय कुमार अभिनित यो पन्ध्रौ चलचित्र हो, जसले सय करोडको व्यापार गर्न सफल भयो। चलचित्रमा करिना कपुर, कियरा आडवाणी लगायतका कलाकारको मुख्य भूमिका छ। करण जोहरको निर्माणमा तयार भएको यो चलचित्रले सन्तान प्राप्तीका लागि दौडिएका २ जोडीको कथा भन्छ। बालबालिकाको लागि राम्रो कथा छ भन्दै नेपालका हलमा पनि दर्शक निकै भिंड देखिएका छन्।