काठमाडौं– गृह मन्त्रालयले प्रहरी महानिरीक्षक (आइजिपि) सर्वेन्द्र खनाललाई प्रशंसा पत्र प्रदान गरेको छ। आईजिपि खनालले लगातार दोश्रो वर्ष सर्वोत्कृष्ट हुँदै यो प्रशंसा पत्र पाएका हुन्।
प्रहरी प्रशासनको नेतृत्व सम्हालेदेखि ठूला–ठूला अपरेशन सफल पारेका खनाललाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रशंसा पत्र प्रदान गरेका हुन्। खनाललाई प्रहरी प्रधान कार्यालय र अन्तर्गतका निकायहरुको बेरुजु फर्छ्याैटमा सर्वोत्कृष्ट स्थान प्राप्त गरेको कारण प्रशंसा पत्र दिइएको हो।
प्रशंसा पत्रमा प्रहरी प्रधान कार्यालय र अन्तर्गतका निकायहरुको बेरुजु फर्छ्याैटमा आ.व. २०७४–७५ सम्मको बेरुजु रकममध्ये ८८.५० फर्छ्याैट गरी आ.व.२०७४–७५ को लेखापरिक्षण भएको कुल अंकमा १.८० प्रतिशतमा मात्र बेरुजु सीमित गर्न सफल भएको भन्दै खनाललाई रु १० हजार पुरस्कारसमेत दिइएको छ।
त्यस्तै आगामि दिनहरुमा पनि निर्दिष्ट लक्ष्यअनसुार बेरुजु फर्छ्याैटमा खनालको लगनशीलता एवम सक्रियताको अपेक्षा गर्दै उनलाई बधाई दिइएको छ। प्रहरी प्रशासनलाई हरेक क्षेत्रबाट तुरुस्त राख्न अतुलतीय भूमिका खेलेका खनालले आफ्नो नेतृत्वमा प्रहरी प्रशासनमाथि जनताको विश्वास बढाएका छन्।
पछिल्लो समयमा हाइप्रोफाइल मानिएका अपराधीहरुलाई समेत जेलमा हालेका खनालले ओहदाको आधारमा कसैलाई पनि अपराध गर्ने छुट नभएको सन्देश दिएका छन्। प्रशंसा पत्र ग्रहण गर्दै उनले थप जिम्मेवार तथा कर्मठशील भएर देशको सेवामा लाग्ने बताएका छन्।