तस्विरः अनलाइन खबरबाट
काठामाडौं– नेपाली चलचित्रकी सदाबहार नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको मुख्य भूमिका रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ पोष्ट प्रोडक्शनमै अल्झिएको छ। यो चलचित्रबाट नै करिश्माकी छोरी कविताले चलचित्र क्षेत्रमा डेब्यू गर्ने तयारी गरेकी छिन्। तर, चलचित्रको काम नै अगाडि बढ्न नसक्दा कविताको डेब्यू चलचित्र नै रिलिज नहुने हो कि भन्ने अन्यौलता समेत छ।
यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन्। दिपेशका अनुसार, चलचित्रको छायाँङ्कन सकिएको छ। उनले भने–‘हामीले वान लाइन सम्पादनको काम पनि सकेका छौं। अब, डबिङको काम शुरु हुन्छ।’ चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, नायिका करिश्मा मानन्धर, नायक शिव श्रेष्ठ, शिवका छोरा शक्ति श्रेष्ठको पनि मुख्य भूमिका छ।
यती धेरै कलाकारले काम गरेको चलचित्रमा राम्रै लगानी समेत भईसकेको छ। चलचित्रमा शक्ति र कविता जोडीको रुपमा देखिदैछन्। वुझिएअनुसार, चलचित्रको पहिलो भागमा कविता र शक्ति हाबी छन्। तर, चलचित्रलाई भने नायिका प्रियंका कार्कीले बोकेकी छिन्। नायिका करिश्मा मानन्धरले चलचित्र निर्देशन गरेर कवितालाई मुख्य नायिकाको रुपमा काम गराउने भन्ने चर्चा पनि सेलाएको छ।
यता, कविताले काम गरेको चलचित्र पनि पोष्ट प्रोडक्शनमै अल्झिएको छ। यस्तो अवस्थामा, कविताको चलचित्र दर्शकले कहिले हेर्न पाउने हुन् भन्ने प्रश्न समेत उब्जिएको छ। तर, चलचित्रका निर्देशक सापकोटा भने चलचित्र रिलिज हुने बताउँछन्। धेरैलाई यो कुरा कता हरायो भन्ने नै लागेको छ।