गौशाला– गौशाला नगरपालिका–८ बेलगाछीका ६५ वर्षीय विल्टु सदा अहिले घर छेउकै बगरखेत लगाएको तरकारी बेचेर आम्दानी बढाउन सफल भएको छ। उनले वषाैंसम्म अरुको खेतमा ज्याला मजदूरी गरि अभाव र दबावका बीच घरपरिवार चलाउँदै आएको थियो।
उनी भन्छन, ‘गौशाला नगरपालिकाको कार्यालयले सामूहिक तरकारीखेतीका लागि आफूहरुजस्ता सुकुम्बासीलाई जग्गा उपलब्ध गराएपछि ज्याला मजदूरी गर्ने दिनको अन्त्य भएको छ। तरकारी स्थानीय बजारमा बेचेर आम्दानी गर्न सफल भएको छु।’ स्थानीय रमेश्वरा सदाले बगरखेती यस वर्ष चार हजार आम्दानी गर्न सफल भएको जानकारी दिए।
त्यस्तै दुई वर्षअघिसम्म घरकै कामकाजमा सीमित रहेकी ४५ वर्षीया दौनादेवी सदा दिनभरि नै तरकारीलाई स्याहरसुहारमा व्यस्त रहेकी हुन्छिन्। गौशाला नगरपालिकाले भर्लेनी र सोनी खोलाको बगरको खाली जग्गा स्थानीय ६० मुसहर घरपरिवार निःशुल्करुपमा जग्गा उपलब्ध गराएको थियो। सो जग्गामा नमूना बगरखेती गर्न ती समुदाय जुटेका हुन्।
रामभरोस महतोले तरकारी खेतीबाट आफूहरुको जीवनशैली परिवर्तनको र आम्दानी समेत बृद्धि भएको जानकारी दिए। उनले भने, ‘बगरमा मुसहर समुदायले उत्पादन गरेको तरकारीखेती नमूना रहेको र यसले यहाँका अन्य किसानलाई समेत लोभ्याउँदै गरेको छ।’
बेलगाछीमै रहेको जनजागरण कृषि सहकारी संस्थाले उनीहरुलाई तरकारीखेती गर्नका लागि समयसमयमा प्रशिक्षण र जैविक प्रविधिले खेती गर्न हौसला बढाइएको छ। सस्थाका अध्यक्ष काशी महतोले सहकारीले अहिले किसानलाई नर्सरी कसरी राख्ने, कति दूरीमा रोप्ने, सिँचाइ कसरी गर्नेलगायत सिकाइरहेको जानकारी दिएका छन्।
बगरखेती गर्नका लागि गौशाला नगरपालिकाले आर्थिक वर्ष २०७५०७६ मा रु पाँच लाख बजेटले जग्गा सम्याउने र किसानलाई तरकारीखेती गर्नका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराएको थियो। नगरपालिकाले यस वर्ष १० लाख बजेटसमेत बिनियोजन गरेको नगरपालिकाका प्रमुख शिवनाथ महतोले बताएका छन्। (रासस)