चितवन– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान लेख्दैमा सबै कुरा आफै पूरा नहुने बताएका छन्।
बिहीबार पूर्वी चितवनको टरौलीमा आयोजित नेपाल कृषि सहकारी संघ लिमिटेडको १२ औं वार्षिक साधारण सभा तथा तालिम भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा लेखेअनुसार आवश्यक कानुन संसोधन गर्ने, सामाजिक न्यायसहितको विकासका लागि उत्पादन प्रक्रियालाई तल्लो तहबाट राम्रो गर्न नसके उपलब्धि हाँसिल गर्न नसकिने बताए। संविधान लेख्दैमा आफसेआप सबै ठिक भइहाल्छ भन्ने कुरा छैन, दाहालले भने, ‘राम्रा कुरा लेख्दैमा संविधान आफै लागू हुँदैन, त्यसका लागि हामीले काम गर्नुपर्छ।’
उनले सहकारी आन्दोलन मुलुकको अर्थतन्त्र विकासका लागि अपरिहार्य तत्व भएको बताए। किसानको जीविका र पेशालाई मर्यादित बनाएर अर्थतन्त्रलाई आत्मनिर्भरता बनाउन सकिने बताए। नेपालको संविधानले नै तीनखम्बे नीति आवश्यक काम नगरे उद्देश्य पूरा नहुने उनले बताए।
‘नेपालको आर्थिक विकासको मार्ग तीनखम्बे नीतिमा परिभाषित छ,’ उनले भने, सार्वजनिक, सरकारी र सहकारी क्षेत्रको सहकार्यबाट मात्रै नेपालको आर्थिक विकास सन्तुलितरुपले अगाडि बढाउन सकिन्छ।