एजेन्सी– जावाको बहुप्रतिक्षित मोटरसाइकल पेरक सार्वजनिक भएको छ। यसै क्रममा भारतीय बजारमा पनि यसको बुकिङ खुलिसकेको छ। बुकिङ खुल्दा वेवसाइट नै क्रयास भएको कम्पनीले ट्वीट मार्फत जानकारी दिएको हो।
हिजो जनवरी १ को साँझ ६ बजेबाट बुकिङ खुल्ला भएकोमा केही मिनेटपछि नै वेभसाइट डाउन भएको कम्पनीले जनाएको छ। लामो समय पश्चात् भारतीय बजारमा प्रवेश गरेको मोटरसाइकल जावाको क्रेज बढ्दै गइरहेको छ। हाल जावाका दुई मोडलका भारतमा उत्पादन भइरहेको छ। यस्तोमा जावा पेरकको डेलिभरी २०२० अप्रिलबाट सुरु गर्ने कम्पनीले जनाएको छ।
यसअघि जावाले दुई मोटरसाइकल २०१८ को अन्तिमा सार्वजनिक गरेको थियो। थोरै यूनिटमात्रै उत्पादन भइरहेको जावा मोटरसाइकलको उत्पादनमा वृद्धि भएसँगै यसको डेलिभरी सुरु गर्न लागिएको कम्पनीले जनाएको छ। २ अप्रिल २०२० बाट डेलिभरी सुरु हुने जावा पेरकलाई १० हजार भारतीय रुपैयाँ टोकन रकम तिरेर ग्राहकले बुकिङ गर्न सक्ने बताइएको छ।
जावा पेरकमा ३३४ सीसी सिगंल सिलिन्डर, लिक्वीड कल्ड, डीओएचसी इन्जिन रहेको छ। यो इन्जिनले ३० बीएच पावर तथा ३१ एनएम टर्क जनेरेट गर्छ। यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ।
यो बब्बर डिजाइन मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक तथा रियरमा मोनोसक सस्पेन्सन रहेको छ। यसमा कम्पनीले डबल च्यानल एबीएस सहित दुबै ह्वीलमा डिस्क ब्रेक दिएको छ।
नेपाली बजारमा पनि २०२० को मध्येसम्म जावा ब्राण्डले बिक्री सुरु गर्ने जनाइएको छ। यसलाई नेपालमा महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले ल्याउने जनाइएको हो।