सिंगापुर — गत वर्षको तुलनामा यस वर्ष सिंगापुरको अर्थतन्त्र एक दशकयताकै न्युन रहेको छ। म्यानुफ्याक्चरिङ क्षेत्र खुम्चिएपछि अर्थतन्त्र सुस्ताएको तथ्याङकले देखाएको छ।
अमेरिका र चीनबीचको व्यापार युद्ध र विश्वको इलेक्ट्रोनिक्स क्षेत्रमा देखिएको चक्रिय सुस्तीका कारण निर्यातमा निर्भर अर्थतन्त्र प्रभावित भएको हो।
सन् २०१९ मा सिंगापुरको कुल गार्हस्थ्य उत्पादन शून्य दशमलव ९ प्रतिशतले बढेको थियो। यो सन् २००९ यताकै न्यून हो। सन् २०१८ मा भने त्यहाँको अर्थतन्त्र ३ दशमलव १ प्रतिशतले बढेको थियो। चौथो त्रैमासको तथ्यांकले भने सन् २०२० मा मध्यम सुधारको आशा बढाएको छ।
यस वर्ष आर्थिक वृद्धिदर शून्य दशमलव ५ प्रतिशतदेखि साढे २ प्रतिशतको बीचमा रहने अपेक्षा अधिकारीहरुले गरेका छन्। एजेन्सी