काठमाडौं– नेपाली कलाकार र आयोजकहरु पछिल्लो समय नेपाल भन्दा बिदेशका ठाउँलाई चिनाउन लागिपरेका छन्। ‘मेरो डान्स कप’ को चौथो र ‘मेरो भ्वाइस कप’ को दोश्रो सिजनको घोषणा गरिएको छ। अमेरिकाको ओहोया स्थित एक्रोनमा जनवरी ४ मा यी दुई कार्यक्रमको शुरुवात हुनेछ।
‘मेरो डान्स कप’ मा नायिका केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकको भूमिका निर्वाह गर्नेछन्। नृत्य र गायनमा रुची भएका प्रतिभाले यो शोमा भाग लिन सक्नेछन्। अमेरिकाको विभिन्न राज्यमा यो शोको अडिसन हुनेछ। अडिसनबाट छानिएका २० जना प्रतिभाले यो शोमा भाग लिन पाउनेछन्। दुबै शोको विजेताले कार र १० तोला सुन पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै, दोश्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक पुरस्कार पाउनेछन् भने तेश्रो हुनेले सिल्भर कप र पुरस्कार पाउने आयोजक सदस्य मध्येकी एक नायिका रीमा विश्वकर्माले जानकारी दिइन्। ‘इन्टरनेशनल होम केयर’ का सञ्चालक डिल्ली अधिकारीको आयोजनामा यो शो हुन लागेको हो।दुबै रियालिटी शोको फाइनल भने अगष्टमा हुनेछ। यो शोको उद्घाटनमा सन्दिप क्षेत्री, बाबु बोगटी, दिलिप रायमाझी, सुशिल क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अन्जु पन्त लगायतका कलाकर्मीको उपस्थिती रहनेछ।