काठमाडौं —५० हजार घुससहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी चौकी त्रिभुवननगर, सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव रहेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सिंह र यादवलाई सेवाग्राहीसँग ५० हजार घुस बापतको रकम लिँदै गर्दा पक्राउ गरिएको हो।
उनीहरूले भारतीय सीमा नाकाबाट नेपालतर्फ घरायसी सामान भित्र्याउने काममा सहज गराई दिने भनी सेवाग्राहीसँग घुस माग गरेको, रकम नदिएमा लागूऔषध मुद्दा चलाउने भनी धम्काइ कुटपिटसमेत गरेको पाइएको प्रवक्ता कोइरालाले बताए।
दुवै आरोपीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार बिगो ५० हजार रुपैयाँ कायम र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको उनले जानकारी दिए।