दोलखा_ धार्मिक पर्यटनका लागि महत्वपूर्ण मानिएको दोलखाको भीमसेन मन्दिरमा व्यापारीको इष्टदेवताको रूपमा पूजा हुँदै आएको छ।
काठमाडौँबाट करीब १४० किलोमिटर टाढा रहेको दोलखाको सदरमुकाम चरिकोटबाट चार किलोमिटर पूर्वतर्फ रहेको सो मन्दिरमा पूजा गरेमा व्यवासायिक रुपमा सफलता प्राप्त गर्ने मान्यता छ। प्राचीन समयमा व्यापार गर्दा वन्यजन्तु, चोर डाकाको डर हुने हुँदा भीमसेनलाई स्मरण गरेमा भयमुक्त हुने जनविश्वास छ।
व्यवसाय गर्दा बाधा, अवरोध, विभिन्न प्रकारका सङ्कटबाटमुक्त भई व्यवसाय सञ्चालन गरेमा नाफा प्राप्त हुने आशाकासाथ व्यापारीले भीमसेनलाई इष्टदेवको रूपमा मानेका हुन्। सर्वसाधारणले भीमसेनको सामान्यदेखि ठूला ठूला पञ्चबलिका पूजासमेत गर्ने गरेका छन्। शिवशक्तिको रूपमा उक्त मन्दिरमा भैरव, भीमेश्वर, भीमसेनको पूजा गर्ने प्रचलन छ।
शिवलाई महादेवका अर्को नामले चिनिन्छ भने भीमसेनलाई भैरवको रूपमा पशुबलिसमेत दिइन्छ। भीमसेन मूर्तिमा शिवशक्तिको रुपमा रुद्रीपूजासमेत गरिन्छ भने मनोकाङ्क्षा पूरा हुने विश्वासले बलि दिइन्छ। दोलखा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेकाअनुसार प्राचीन मन्दिर धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण रहेकाले यसको ऐतिहासिक पक्षलाई संरक्षण गर्न र आसापास क्षेत्रमा पूर्वाधार विकासका लागि प्रयास भइरहेको बताए।
भीमेश्वर नगरपालिकामा रहेको भीमसेनको मूर्ति कहिले कसरी स्थापना गरिएको हो भन्नेबारे प्रष्ट आधार फेला परेको छैन्। किराँतकालीन समयमा स्थापना भएको अनुमान गरिएको छ। चिटिक्क परेको उक्त मूर्ति चिल्लो खरीको प्रस्तरबाट बनेकाले आकर्षित देखिन्छ। यसको विशेषता भनेको मुलुकमा विपत् आउन लागेको समयमा पूर्व सूचनाका रुपमा लिइएको छ। मूर्तिमा पसिना आएपछि विशेष प्रकारको पूजा गर्ने परम्परा छ।
विसं १९९०, १९९७, २००७, २०१७, २०३६, २०४६ र २०५७ सालमा मूर्तिमा पसिना आएको बताइएको छ। पसिना आएका यी वर्षमा देशमा प्राकृतिक विपत्, राजनीतिक परिवर्तन, दरबार हत्या काण्डजस्ता घट्ना भएकाले पनि पसिनाको सूचना प्राप्त भएपछि विभिन्न प्रकारका पूजा गरी विपतलाई न्यूनीकरण गर्ने चलन छ। विभिन्न समयमा सम्पन्न मानिसले मन्दिरको नाममा नगद, गरगहना, जग्गा जमीन चढाएर गुठी स्थापना गरेको मन्दिरमा दशै, शिवरात्री, जनैपूर्णिमा, भीम एकादशीमा मेला लाग्ने गर्दछ भने कात्तिकमा मूर्तिको महास्नान गरिन्छ।
हिन्दू धर्मशास्त्रमा रामायण र महाभारतको विषयवस्तुलाई समेटेर तयार गरिएको ग्रन्थलाई ठूलो धार्मिक विश्वास र मान्यता दिइएको छ। त्यसमध्ये महाभारतकालीन समयका महत्वपूर्ण पात्रका रुपमा भीमसेनलाई लिइएको छ। महाभारतको युद्धमा पाण्डुका दोस्रो सन्तानका रुपमा उदय भएका भीमसेनले सामाजिक समानता, न्याय कायम गर्न अन्यायका विरुद्ध युद्ध गरी पाण्डव पक्षलाई विजय बनाउन निर्णायक भूमिका निर्वाह गरेको थियो। त्यसपछि नै भीमसेनको मूर्ति स्थापना गरिएको अनुमान छ।
उक्त स्थानमा भीमसेनको मूतिसँगै कुन्ति, द्रौपति, नहकुल र सहदेवको मूर्ति छ। युधिष्ठीर र अर्जुनको मूर्ति राखिएको छैन्। पाँच पाण्डव एकवर्ष गुप्तवास बस्ने समयमा मन्दिरको नजिकै बसेर गौरीशङ्करको प्राथना गरेको किम्बदन्ती पाइन्छ।
तत्कालीन समयमा पाँच पाण्डवले प्रयोग गर्ने साङ्केतिक भाषापछि दोलखाका नेवार समुदायले बोल्ने गरेको स्थानीयवासी विश्वास गर्छन्। देशका विभिन्न स्थानमा रहेका नेवार समुदायले बोल्ने नेवारी भाषा अर्को स्थानमा केही फरक पाइन्छ। भीमेश्वर मन्दिर ऐतिहासिक, सांस्कृितक, धार्मिक तथा पुरातात्विक रुपमा महत्वपूर्ण रहेकाले यसको स्थापनाका विषयमा थप अध्ययन र अनुसन्धानको जरुरी छ।
प्रदेश नं ३ मा पर्ने यस क्षेत्रमा रहेका प्राचीन संस्कृति, ऐतिहासिक विविधता, सम्पदास्थल, धार्मिकस्थलका साथै नयाँ पर्यटकीय गन्तव्य क्षेत्रमा प्रदेश सरकारले हालै सञ्चारकर्मीलाई स्थलगत अवलोकन भ्रमण गराएको थियो। भीमसेन मन्दिरकासाथै कालीञ्चोक मन्दिर पनि धार्मिक पर्यटनका महत्वपूर्ण गन्तव्यका रुपमा विकास हुने सम्भावना देखिएको छ। रासस