१.यस्ता छन् मन्त्रिपरिषद्का १४ निर्णय
मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीलाई चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ। सरकारले काठमाडौंको चक्रपथ विस्तार परियोजनाअन्तर्गत कलंकी —महाराजगञ्ज– धोबिखोला खण्डको सडकसिमा ३१–३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको हो। त्यस्तै, मन्त्रिपरिषद बैठकले नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका इजिप्टका ४ नागरिकलाई निष्कासन गर्ने निर्णय गरेको छ। उनीहरूको भिसा दिस्तुर तथा बिलम्ब शुल्क बापतको ४ हजार ६ सय ४०अमेरिकी डलर तथा जरिवाना बापतको २ लाख रुपैयाँ मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय लिइएको हो।
२.नेपाल भ्रमण वर्षः चिनियाँ राजदूतको तस्बिरले सबैको मन जित्याे
अंग्रेजी नयाँ वर्ष २०२० सँगै नेपाल भ्रमण वर्ष पनि मनाइरहेको छ।आजदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ। यो बीचमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले भ्रमण वर्ष २०२० को शुभकामना दिंदै आफ्नो सुन्दरता छचल्किने तस्विरहरु सार्वजनिक गरेकी छिन्। भ्रमण वर्षलाई लक्षित गर्दै यान्कीले नेपाली सम्पदाहरु माझ मोडल झैं पोजहरु दिएर खिचेका तस्विर आफ्नो ट्विटर ह्यान्डलमा राखेकी छिन्।
३.राससकर्मी प्रधानको निधन
राष्ट्रय समाचार समिति इटहरीका समाचारदाता याम प्रधानको निधन भएको छ। मिर्गौला रोगबाट पीडित भई घरमै थालिएका ५२ वर्षीय राससकर्मी प्रधानको आज बिहान आफ्नै निवास इटहरीमा निधन भएको हो। सुनसरीका पुरानो पत्रकारका रूपमा परिचित इटहरीका पत्रकार प्रधान प्रेस स्वतन्त्रता सेनानीसमेत हुन्थे। सुनसरीमा पत्रकारिताका गुरुसमेत मानिने उनी नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वसभापति समेत हुन्थे। प्रधानको निधनले नेपाली पत्रकारिता इतिहासमा अपूरणीय क्षति भएको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अम्मर खड्काले बताएका छन्।
४.उखु जोखेपछि रकम किसानको खातामा जाने ब्यवस्था गर्छौंः उद्योगमन्त्री भट्ट
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानले उखु बेच्नेबित्तिकै पैसा पाउने वातावरण बनाउने बताएका छन्। बिहीबार राष्ट्रियसभामा बोल्दै उनले उखु जोखेपछि रकम किसानको खातामा जाने ब्यवस्था गर्ने बताएका हुन्। उखु किसान र चिनी मिलको समग्र समस्या पत्ता लगाउन कार्यदल गठन गरेको भन्दै मन्त्री भट्टले कार्यदलको सुझावको आधारमा सरकार अघि बढ्ने बताए। उनको अनुसार मिलको गेटमा उखुको हुनेवित्तिकै तुरुन्तै बैंकमार्फत भुक्तानी होस् भनेर कार्यदल गठन गरिएको छ।
५.उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा समेत अवरुद्ध
मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो। यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे थियो। गएरातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताए। हिमपातले बाहिर निस्कनसमेत मुस्कील भएको सुर्नया–८ का वीरबहादुर बोहराले जानकारी दिएका छन्।
६.चन्द्रयान–३ः चन्द्रमामा पुग्ने भारतको तेस्रो योजना सार्वजनिक
विक्रम ल्यान्डर नामक यान अवतरण गर्ने क्रममा चन्द्रमाको सतहमा ठोक्किएको केही महिनापछि भारतले तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको छ। भारतीय अन्तरिक्ष केन्द्र इसरोका अध्यक्ष के. शिवनले मानवरहित चन्द्रयान–३ मिसनसम्बन्धी कार्य “सहज रूपमा’’ अघि बढिरहेको बताएका छन्। उनका अनुसार उक्त मिसन सन् २०२० भित्रै प्रक्षेपण गर्ने तयारी भए पनि त्यो योजना सन् २०२१ सम्म “पुग्न सक्ने“ सम्भावना छ।
७.जम्मू–कश्मीर झडपमा एक गोर्खालीको मृत्यु
अनलाइनमा कुराकानी चल्दै थियो। अर्जुन थापा मगर हतासिए। केहीबेरपछि कुराकानी गर्ने भन्दै उनी अफलाइन भए। तर परिवारका सदस्यसँग त्यही अनलाइन कुराकानी नै उनको अन्तिम कुराकानी भयो। बुधबार जम्मू–कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका–५ देवीमाई टोलका नेपाली युवा अर्जुन थापा मगरको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ।
८.पाँचऔंलेमा हुन्छन् यस्ता औषधीय गुण
नेपालको हिमाली क्षेत्रमा पाइने पाँचऔंलेबारे धरैलाई थाहा नहुन सक्छ। पाँचऔंलेमा धेरै किसिमका औषधीय गुणहरु हुन्छन्। नेपाली नाम पाँचऔंले भए पनि स्थानीय भाषामा यसलाई हत्ताजडी, पाँच पाते लगायतका नामले समेत चिनिन्छ। आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ।यसको गाना हातको औँला जस्तै पाँच भागमा विभाजित हुने भएको हुँदा यसलाई पाँचऔंले भनिएको हो। यो एक लहरा प्रजातीको वनस्पति हो। यो नेपाल सहित पाकिस्तान, भारत, भुटान चीन लगायतका देशमा पाइन्छ।
९.दिदीलाई प्रेमीसँग यस्तो अवस्थमा देखेपछि टाइगर श्रोफको कडा प्रतिक्रिया
चर्चित बलिउड कलाकार ज्याकी श्रोफकी छोरी तथा टाइगर श्रोफकी दिदी कृष्णा श्रोफ आजकाल प्रेमी इबन हायम्ससँग छुट्टीमा छिन्। छुट्टीका तस्बिर कृष्णाले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन्। तस्बिरमा कृष्णाको रोमान्टिक अन्दाज सार्वजनिक भएको छ। कहिले उनी इबनलाई चुम्बन गरिरहेको फोटो सेयर गर्छिन् त कहिले अँगालो हालिरहेको देखिन्छिन्। कृष्णाले यी तस्बिर सेयर गर्दै लेखिन्, ‘मलाई सधैं हसाउँछौ, मेरो बेस्ट फ्रेन्ड र ट्वीन सोललाई पाउँदा निकै खुसी छु।’ कृष्णाको फोटोमा भाइ टाइगरले पनि कमेन्ट गरेका छन्।
१०.पछाडि एउटा मात्र चक्का भएकाे ‘आर–३’ इलेक्ट्रीक कार
मुम्बाई बेस मोटर कम्पनी स्ट्रोम मोटर्सले कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो २०२० मा आफ्नो पहिलो इलेक्ट्रीक कार ‘आर–३’ सार्वजनिक गर्ने भएको छ। अमेरिकाको लस भेगासमा आयोजना हुने उक्त शोमा कम्पनीले ‘आर–३’ लन्च गर्ने भएको हाे। कम्पनीले आर–थ्रीको पहिलो प्रटोटाइप भने २०१८ अप्रिलमा भारतमा प्रदर्शनी गरेको थियो। कम्पनीले फेब्रअरी २०२०बाट यो इलेक्ट्रीक कारको भारतीय बजारमा प्रि–बुकिङ खुल्ला गर्ने जनाएको छ। कम्पनीले ल्याउदै गरेको स्ट्रोम आर–३ मा अगाडि दुई चक्का रहेका छन् भने पछाडि एउटा मात्रै चक्का दिइएको छ।