एजेन्सी–सन् २०१९ मा कमर्सियल विमान दुर्घटना ५० प्रतिशतले विश्वव्यापी रुपमा घटेको एक अध्ययनबाट देखिएको छ। एक डच कन्सल्टिङ्ग फर्मले गरेको अध्ययनपछि बुधबार सार्वजनिक गरिएको तथ्यमा सो कुरा उल्लेख गरिएको छ। यद्यपि हाइप्रोफाइल बोइङ्ग ७३७ म्याक्स गएको मार्च महिनामा इथियोपियामा दुर्घटना भएको थियो।
एभिएसन कन्सल्टिङ्ग फर्म टु ७० को सो अध्ययनमा ८६ वटा दुर्घटना ठूलो कमर्सियल विमानमा भएको र ८ वटा गम्भीर दुर्घटनामा २५७ जना मानिस गतवर्ष मारिएका थिए। सन् २०१८ मा १६० वटा दुर्घटना भएकामा तिनमा १३ वटा गम्भीर दुर्घटना भएको र जसका कारण ५३४ जनाको मृत्यु भएको जनाइएको छ। टु ७० का अनुसार गम्भीर खालका दुर्घटनाको प्रतिशत प्रति दशलाखमा शून्य दशमलब १८ प्रतिशत रहेको जनाइएको छ।
सन् २००५ मा १,०१५ जनाको मृत्यु भएको थियो। अहिले उडान बढे पनि दुर्घटना र मृत्युको संख्या घटेको जनाइएको छ। सन् २०१७ मा दुई वटा मात्रै गम्भीर दुर्घटना भएका थिए। सो वर्षलाई उड्डयन क्षेत्रकै सबैभन्दा सुरक्षित वर्ष मानिएको थियो। सो वर्ष १३ जनाको मात्रै मृत्यु भएको थियो। पछिल्लोपटक गत सातामात्रै कजाकस्तानमा बेक एयर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो। रोयटर्स