एजेन्सी – स्विडेनका १९ वर्षीय मिडफिल्डर डेजान कुलुसेभ्स्कीलाई इटालियन च्याम्पियन युभेन्टसले ३५ मिलियन युरो तिरेर पार्माबाट अनुबन्ध गरेको छ।
एटलान्टाबाट यसै सिजन लोनमा पार्मा पुगेका उनले प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। मिडफिल्डमा खेल्नका बाबजुद पनि उनले लिगमा ४ गोल गरिसकेका छन्।कुलुसेभ्स्कीले गतवर्ष मात्र स्विडेनको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।युभेन्टसले जनवरी ट्रान्सफर विन्डोमा दुई खेलाडीलाई बिदाइ गरिसकेको छ।
गोलरक्षक माटिया पेरिन लोनमा जेनोआ पुगेका छन् भने फरवार्ड मारिओ मान्जुकिचले पनि क्लब छाडिसकेका छन्। प्रशिक्षक माउरिजियो सार्रीले कुलुसेभ्स्कीलाई भने अर्को सिजनको सुरुवातमा मात्र प्रयोग गर्न पाउनेछन्। उनले यस सिजन पार्माबाट नै खेल्नेछन्।
यसपटक इटालियन सिरी ए मा इन्टर मिलान र युभेन्टसबीच लिग उपाधिका लागि निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। युभेन्टसले नर्वेली फरवार्ड एर्लीङ हालान्डलाई अनुबन्ध गर्न खोजेपनि सफल हुन सकेको थिएन। यसपटक भने कुलुसेभ्स्कीलाई सिजन अगावै अनुबन्ध गरेर अर्को सिजनका लागि युभेन्टस ढुक्क भएको छ।