बुटवल– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवामाथी पार्टी समाप्त गर्न लागेको आरोप लगाएकी छिन्। उनले आन्तरिक विवादको कारणले आउने चुनावमा कांग्रेस हार्ने पनि बताइन्।
शुक्रबार बुटवलमा आयोजना गरेको सुजाताले पत्रकार सम्मेलनमा बोल्द फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त गर्न खोजेको बताएकी हुन्। पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन, उनले भनिन्। आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेसको हार हुन्छ कोइरालाले बताइन्।
यदि पार्टी्भित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाकी छोरीको हात पनि यो पार्टीमा भोट हाल्न काँप्छ। कांग्रेसलाई भोट हाल्दा अन्य कार्यकर्ताको पनि हात काँप्ने स्थिति नआओस् भन्नेतर्फ ध्यान दिनु पर्ने उनले बताइन्। पार्टीको विवाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने कोइरालाको धारणा छ।
कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन्। उनले शशांक कोइराला, शेखर कोइराला र आफूबीच कुनै विवाद नभएको दाबी गरिन्। उनको अनुसार कोइराला परिवार भनेर मात्रै होइन, कांग्रेसमा योगदान गरेको इतिहास पनि छ। जो भए पनि मिलेरै अगाडि बढ्नुपर्ने पनि उनले धारणा राखिन्।