काठमाडौं– सन् २०१८ अक्टोबर र सन् २०१९ को मार्चमा प्राविधिक कमजोरीका कारण दुई दुर्घटना भएपछि संसारभर उडानमा प्रतिबन्ध लगाइएको म्याक्स विमानलाई उत्पादक कम्पनी बोइङले नेपालमा बेच्न प्रयास गरेको नेपाली वायुसेवाहरूले बताएका छन्।
बोइङले गत वर्षको अन्त्यमा एक अभूतपूर्व निर्णय गर्दै सन् २०२० को ज्यानुअरीदेखि ७३७ म्याक्स मोडलका विमानको उत्पादनमा अस्थायी रोक लगाउने घोषणा गरेको थियो। बोइङ कम्पनीका प्रतिनिधिहरूले सो विमान नेपालको बुद्ध एयर र नेपाल वायुसेवा निगमलाई बिक्री गर्न पहल गरेको अधिकारीहरूले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।
बोइङ्ग ७३७ म्याक्स विमान बुद्ध एयरले किन्ने अपेक्षा गरिएको थियो, तर सुरक्षा चिन्तासँगै प्रतिकूल व्यापारिक वातावरणका त्यो कारण योजना अघि बढ्न नसकेको बताइएको छ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार अमेरिकाको बोइङ कम्पनी प्रतिनिधिहरूले करिब डेढ वर्षअघि आफूलाई भेटेर सो विमान किन्नका लागि मनाउने प्रयास गरेका थिए।
बस्नेत भन्छन् “नेपाल आएको बेला उनीहरूले हामीलाई बोइङ ७३७ म्याक्स विमानको क्षमता र फाइदाबारे प्रस्तुति दिएका थिए।’’ हामी निकै प्रभावित भएका थियौँ। तर बुद्ध एयरका अन्तर्राष्ट्रिय उडान योजना असफल भएका कारण बोइङसँगको कुराकानी अगाडि बढ्न सकेन्।
म्याक्समा जाने बुद्धको योजना
बुद्ध एयरले त्यतिबेला अन्तर्राष्ट्रिय उडानहरू गर्ने र त्यसका लागि नयाँ जेट विमानहरू किन्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको थियो।
बस्नेतले भने, “बोइङका अधिकारीहरूले दिएको प्रस्तुति अनुसार हामीलाई म्याक्स विमान पोखरा र काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङ, मस्को, जापान र दक्षिण कोरियासम्म उडान गर्नका लागि प्रावधिक रूपमा उपयुक्त लाग्यो।’’
“यदि हाम्रो बजार योजना सफल भएको भए र यदि म्याक्सको सुरक्षासँग सम्बन्धित समस्या समाधान भएको भए हामीले काठमाडौं र पोखराबाट म्याक्स सञ्चालन गर्ने सोच बनाएका थियौँ,’’ उनले भने। बुद्ध एयरले छ महिनासम्म कोलकाता–काठमाडौं उडान सञ्चालन गरेकोमा त्यसमा १० करोड रुपैयाँ घाटा बेहोर्नुपरेको भन्दै उडान स्थगित गर्न आफूहरू बाध्य भएको बस्नेतले बताए।
उनले भने, “जेटलाइनरमा जानका लागि कलकत्ता उडान हाम्रो लागि परीक्षाजस्तै थियो। कोलकाता सफल भयो भने बोइङसँग कुरा अगाडि बढाउने भनेको, तर अब कलकत्तै असफल भयो।’’
बोइङ–नेपाल वायुसेवा साइनो
बोइङका प्रतिनिधिहरूले नेपाल वायुसेवा निगमका अधिकारीहरूलाई पनि भेटेर म्याक्स विमान बेच्न खोजेको निगमका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले बीबीसीलाई बताए।
उनले भने, “बोइङका उच्च अधिकारीले हामीलाई भेटेर त्यो ढाँचाको बोइङ विमान किन्न मनाउन खोजेका थिए।’’ तर हामीले एअरबसका विमान किन्न बोलपत्र आह्वान गरिसकेका थियौँ। निगमले एअरबसका विमान किन्नु अघि लामो समयसम्म बोइङका विमानहरू सञ्चालनमा गरेको थियो।
चारवटा बोइङका विमान उडाएर अचानक एअरबसका विमान रोज्न थालेपछि बोइङका अधिकारीहरूले अमेरिकी दूतावासको समेत सहयोग लिएर निगमलाई मनाउन कोसिस गरेको अधिकारीहरू बताउँछन्। कंसाकार भन्छन्, “हामीले एअरबसमा जाने निर्णय गरिसकेकोले बोइङको लागि हामीलाई मनाउन धेरै ढिलो भइसकेको थियो।’’
म्याक्स किन सङ्कटमा?
गत वर्षको अक्टोबरमा इन्डोनेसियामा र त्यसको केही समयपछि इथियोपियामा एकैखाले खराबी देखिएर बोइङ्ग ७३७ म्याक्स विमानहरू दुर्घटनामा परेपछि संसारभरिका वायुसेवाहरूले आफूसँग भएका त्यो मोडेलका विमानको उडान बन्द गरेका थिए।
इन्डोनेसियामा १८९ जना र इथियोपियामा १५७ जनाको ज्यान जाने गरी भएका म्याक्स विमान दुर्घटनाको सम्भाव्य कारक मानिएको त्रुटिपूर्ण सफ्टवेअर अद्यावधिक गरिसकेको बोइङको भनाइ छ।
तर पनि म्याक्स विमानको सुरक्षा बारेका आशङ्काहरू हटिसकेका छैनन्। गत मार्च १० मा इथियोपियामा दुर्घटनाग्रस्त भएको बोइङ्ग ७३७ म्याक्स विमानमा एकजना नेपाली यात्रु पनि थिइन्। विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीमा कार्यरत एकता अधिकारी त्यो दुर्घटनामा ज्यान गुमाउने राष्ट्रसङ्घका १९ कर्मचारीमध्ये एक थिइन्। बीबीसी