काठमाडौं– निरुता सिंह र रेखा थापा नेपाली चलचित्रलाई उचाईमा हाँक्ने नायिका हुन्। चलचित्र ‘हिरो’ बाट रजतपटमा प्रवेश गर्दै गर्दा नायिका रेखा थापाले जर्बजस्त स्टारडम बनाउँछिन् भन्ने कमैले मात्र सोचेका थिए। तर, नायिका थापाको स्टारडम चलचित्र क्षेत्रमा लोभलाग्दो तरिकाले अगाडि बढ्यो। नेपाली चलचित्रमा नायिकाहरुको स्टारपावर निकै कमजोर छ। विशेषगरि, नायिकाहरु चर्चामा रहेपनि चलचित्र चलाउनमै उनीहरुको हात भने निकै कम देखिन्छ। तर, रेखाले भने यो कुरा तोडेकी थिइन् ।
रेखा थापाका अधिकांश चलचित्रले बक्स अफिसमा तहल्का मच्चाए। निर्माता छविराज ओझाको ब्यानरका चलचित्र हुन् या रेखा आफैले निर्माण गरेका चलचित्र नै किन नहुन् बक्स अफिसमा चम्किए। रेखाको नाममा नै चलचित्र विक्यो। रेखाको चलचित्रमा काम गरेका आर्यन सिग्देल, जीवन लुइटेल हुन् या विराज भट्ट नै किन नहुन् सबै रेखाको अघि ओझेलमा नै परे। चलचित्र क्षेत्रमा रेखा खेलेको चलचित्रमा नायकको काम हुँदैन पनि भनिन्थ्यो। यसैले, पनि रेखा थापाको लफडा त्यो बेलामा नाम चलेका नायक निखिल उप्रेती, विराज भट्टदेखि आर्यन सिग्देलसम्म पर्यो।
रेखा थापाले नायिका निरुता सिंहको दबदबा तोडेकी थिइन्। निरुता सिंहको रोनाधोनामै दर्शक रमाएका थिए। निरुताकै नाममा पनि चलचित्रले लोभलाग्दो व्यापार गर्थे। निरुता सिंहले अभिनय गरेका थुप्रै चलचित्रले सय दिनको व्यापार गरेका छन्। निरुताले आफ्नो समयमा त्यो बेलामा चलेका नायकहरु बराबरको पारिश्रमिक लिने गर्थिन्। हुनत, निरुता रेखाअघि पनि थुप्रै नायिकाहरुले चलचित्र क्षेत्रमा क्रेज नबनाएका होइनन्। तर, चलचित्र आफ्नै नाममा चलाउने हकमा भने धेरै नायिकाहरु सफल भएनन्।
विपना थापा, जल शाह, कृष्टी मैनाली, पूजा चन्द, झरना थापा लगायतका नायिकाको क्रेज पनि चलचित्र क्षेत्रमा नभएको भने होइन।रेखा थापापछि उदाएका नायिकामा प्रियंका कार्की, केकी अधिकारी, नम्रता श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा, स्वस्तिमा खड्का लगायतका नायिका पर्छन्। तर, अधिकांश नायिकाले आफ्नै नाममा चलचित्र चलाउने क्षमता भने राख्न सकेका छैनन्।प्रियंका कार्कीले करिब आधा दशक चलचित्र क्षेत्रमा नम्बर १ को स्थान जमाइन्। तर, प्रियंकाको चर्चा जति चलचित्रको पर्दा बाहिर भयो, चलचित्रमा भएन। न त उनको कामको नै भयो, न त उनको स्टारडमको नै। प्रियंका चलचित्र क्षेत्रमा गसिप क्विन मात्र बनिन्। यसैले, उनको चर्चा जसरी चुलियो त्यसरी नै सेलाउँदै पनि छ।
यसपछि, जन्मिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि स्टारडम धान्न मुश्किल परिरहेको छ। ‘ड्रिम्स र ए मेरो हजुर–२’ चलेपछि चम्किएकी साम्राज्ञी यसपछि भने निरन्तर ओरालो लागिरहेकी छिन्। नेपालमा यसैपनि नायिका केन्द्रित चलचित्र कम बन्छन्। यसमाथि, नायिकाहरु सामाजिक सञ्जालमा हिट चलचित्रमा असफल हुँदा दर्शकको नजरमा पनि पर्न सकेका छैनन्। प्लस टू जेनेरेशनबाट अहिलेको यूवापुस्ता बाहिर जान सकेको छैन। निरुता सिंह, रेखा थापाको नाम गाउँका कुना–कुनामा अहिले पनि सुनिन्छन्। तर, यसपछि उदाएका नायिकाहरु केही शहरका कुनामा मात्र सिमित छन्। त्यसैले पछिल्लो समय कम चलचित्रमा देखिने नायिका निरुता र रेखाको नेपाली चलचित्रमा फेरि खोजी भएको त हैन? पछिल्लो समय निरुताको ‘दाल भात तरकारी’ र रेखाको ‘मालिका’ मा उनीहरुलाई दर्शकले पहिले जस्तै रुचाएका थिए।