एजेन्सी– कुवेतकी एक मेकअप आर्टिस्टले आफ्नै अनुहारमा कालो रंग पोतेको तस्बिर र भिडियो सार्वजनिक गरेपछि ‘रंगभेद’ फैलाएको भन्दै उनको चर्को आलोचना भएको छ। मेकअप आर्टिस्ट घदीर सुल्तानले आफ्नो इन्स्टाग्राममा गत बुधबार सर्ट भिडियो क्लिप पोस्ट गरेकी थिइन्।
साथै उनले ’हामी विश्व हौँ’ बोलको गीत पृष्ठभूमिमा शेयर पनि गरेकी थिइन्। भिन्न छालाको रङ र नक्कली कपाल पनि उनले जोडेकी थिइन्। यसरी उनले पोस्ट गरेको तस्बिरमा ४४ हजार लाइक आएको थियो। सुल्तानको पेजमा २० लाख फलोअर्स छन्।
यससँगै सुल्तानलाई आलोचना गर्दै कमेन्टको आइरो आउन थाल्यो। कतिपयले भने उनले केही गल्ती नगरेको भन्दै बचाउ गरेका छन्। एकजना इन्स्टाग्राम प्रयोगकर्ता बाराकदमले भनेका छन्, ’तिमीले यो कसरी राख्यौ अर्थ राख्दैन, यो रंगभेद नै हो।’
यस्ता धेरै आलोचनात्मक टिप्पणी आएपछि सुल्तानले आफ्नो अर्को कालो अनुहार सहितको तस्बिर राख्दै आफू रंगभेदी नभएको प्रतिक्रिया दिएकी छन्। ’म रंगभेदलाई घृणा गर्छु। म केको लागि सक्षम छु भनेर देखाउन मात्रै यस्तो गरेकी हुँ । म तपाईँ सबैलाई माया गर्छु !,’ सुल्तानले जवाफ दिँदै लेखेकी छन्।
तर उनलाई प्रतिप्रश्न गर्दै एकजनाले लेखेका छन्, ‘यदी तिमी आफ्नो बहुप्रतिभा देखाउन चाहन्छ्यौ भने साँच्चिकै एक अश्वेत मोडेलको मेकअप गरिदेऊ।’ ट्वीटरमा सुल्तानका समर्थक र विरोधीबीच यही विषयलाई लिएर छेडखानी सहित बाझाबाझ समेत भएको छ।
यसरी कुवेतको सेलिब्रिटीले अभिव्यक्तिका कारण विरोध र विवाद झेल्नु परेको यो पहिलो घटना हो। गत वर्ष ब्लगर सान्डोस अल कत्तानले कुवेती कानुनको विरोध गरेकोमा चर्को आलोचना र गाली खेप्नु परेको थियो।