काठमाडौं– तारको ‘रोल’मा मिटर नै घटेको भन्दै पीडितले उजुरी दिएपछि पायोनियर केबलको थापाथलीस्थित आधिकारिक विक्रेताको पसलमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रबार छापा मारेको छ।
महाशाखा प्रमुख एसएसपी शहकुल थापाको अनुसार पायोनियर इलेक्ट्रिक केबलको काठमाडौंका लागि आधिकारिक विक्रेता महेन्द्र साडालाई पनि पक्राउ गरिएको छ। उनीहरुले १० रोल ल्याएर परीक्षण गर्दा सबैमा ५ देखि १६ मिटरसम्म कम भएको पाइएको थापाले बताए।
उनले थप परीक्षणका लागि विराटनगरमा रहेको तारको उद्योगलाई पनि पत्राचार गरिने जनाए। एसी, सोलार जस्ता ‘हेभी’ उपकरणमा प्रयोग हुने तारमा समस्या भेटिएको हो।
थापाले पक्राउ परेका साडामाथि ठगी सम्बन्धी कसूरमा मुद्दा चल्न सक्ने बताए।