काठमाडौं– आन्दोलनरत उखु किसानहरुको बक्यौता रकम तिर्न अन्नपूर्ण सुगर मिल तयार रहेको बताइएको छ। मिल सञ्चालक राकेश कुमार अग्रवालले शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लिखित प्रतिबद्धता दिएका छन्।
त्यस्तै, अग्रवालले बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ किसानको खातामा पठाइसकेको दाबी गरेका छन्। लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र मिलले ५ करोड रुपैयाँ किसानको खातामा पठाउनु पर्नेछ।
यस्तै माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने लिखित प्रतिबद्धतामा उल्लेख गरिएको छ। उनले उद्योगमा स्टक रहेको चिनी बिक्रीका लागि सहयोग गरिदिन मन्त्रालयलाई आग्रहसमेत गरेका छन्।
किसान प्रतिनिधिले अन्नपूर्ण सुगर मिलको वक्यौता ४० करोड रहेको दावी गरे पनि उद्योगीले भने २५–२६ करोड रुपैयाँ मात्रै रहेको बताएका थिए।