काठमाडौं– महिन्द्राको नयाँ इन्जिनमा स्कर्पियो नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालको लागि आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रा.लिले १९९० सीसी क्षमताको फोर सिलिण्डर इनल्याण्ड डिओएचसी इन्जिन रहेको नयाँ स्कर्पियो नेपालमा ल्याएको हो।
रेगुलर मोडलको रुपमा कम्पनीले बिक्री गर्दै आएको २१७९ सीसीको जस्तै नयाँ इन्जिनले पनि समान पावर र टर्क प्रदान गर्नेछ। कम्पनीले २.० लिटर इन्जिनलाई केही ट्युनिङ गरेर एउटै पावर प्रदान गरेको जनाएको छ। नयाँ स्कर्पियो एस ५ भेरियन्ट मात्र उक्त इन्जिनमा उपलब्ध रहेको छ।
त्यस बाहेक अन्य सबै भेरियन्ट २.२ लिटरमा नै उपलब्ध रहेको कम्पनीले जनाएको छ। इन्जिन बाहेक अन्य कुनैपनि फिचरमा परिवर्तन नगरिएको तर केबल केही कम सीसीको कारण रेगुलर मोडलभन्दा सस्तो पर्न गएको अग्नी इनकर्पोरेटका महाप्रबन्धक वरदान बस्नेतले जानकारी दिएका छन्।
कम्पनीले २.० लिटर स्कर्पियो एस ५ टु ह्वील ड्राइभ मोडलको मूल्य ४८ लाख ८५ हजार रुपैयाँ र फोर ह्वील ड्राइभको मूल्य ५३ लाख रुपैयाँ रहेको छ। रेगुलर मोडल २.२ लिटर एस५ टु ह्वील ड्राइभ मोडलको मूल्य भने ५१ लाख ८५ हजार र फोर ह्वील ड्राइभको ५६ लाख रुपैयाँ रहेको छ।