एजेन्सी– चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित नयाँ फिल्म ‘छपाक’ यही जनवरी १० मा रिलिज हुँदैछ।तेजाब आक्रमण पीडितको जीवन कथामा आधारित यो फिल्मबारे निकै चर्चा भइरहेको छ। फिल्ममा दीपिकाको लुक्सलाई धेरैले सरहाना गरेका छन्। उनले तेजाब आक्रमण भएको अनुहार देखाउन निकै मिहेनत गरेकी थिइन्। फिल्ममा देखिने उनको अनुहारको मास्क र त्यसको सेटअप मिलाउनै कम्तीमा तीन घन्टा लाग्ने गरेको उनले बताएकी छन्।
प्रायः कलाकारहरू आफ्ना फिल्मसँग जोडिएका चिजलाई सम्हालेर राख्छन्। तर दीपिकाले भने यो फिल्ममा पहिरिएको तेजाबले डढाएको अनुहारको मास्क जलाईदिएकी छिन्। हालै एक कार्यक्रममा दीपिकाले यो जानकारी दिएकी हुन्। उनका अनुसार सुटिङको अन्तिम दिन उनले उक्त मास्क जलाएकी हुन्। यो मास्क लगाएर सुटिङ गरून्जेल उनलाई बेग्लै अनुभूति भएको र ती अनुभव आफूसँग नरहून् भनेर मास्क जलाएको उनले बताएकी छन्।
यस्तो मास्क महँगो पर्छ। कलाकारले बनाएका यस्ता मास्कका निम्ति ठूलै रकम तिर्नुपर्छ। तर फिल्म ‘छपाक’ की सह–निर्माता समेत रहेकी दीपिकाले महँगै भए पनि उक्त मास्क लिएर जलाएकी बताइएको छ।मास्क जलाएर उनलाई भावनात्मक रूपमा सहज भएको उनले बताएकी छन्। मेघना गुलजारद्वारा निर्दे्शित फिल्म ‘छपाक’ लक्ष्मी अग्रवाल नामक युवतीको जीवनीमा आधारित छ।
लक्ष्मीलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर तेजाब प्रहार गरेका थिए। सो घटनापछि लक्ष्मी तेजाब हिंसाविरूद्धको अभियानकर्ता बनेकी छन्। जुन कुरा अहिले सबैको प्रेणाको स्रोत बनेको छ।