काठमाडौं _ कर्णाली र सुदूरपश्चिम प्रदेशअन्र्तगत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर नेटवर्क विस्तारसम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिकामा अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने उद्देश्यले आज प्राधिकरणका अध्यक्ष पुरुषत्तोम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सो कार्यका लागि नेपाल टेलिकमले बोलपत्रबाट प्रतिस्पर्धा गराई प्राप्त हुने रकममा अधिकतम रु ३.००८१ अर्ब प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषबाट प्रदान गरिनेछ। रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार गर्ने गरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लासहित बाँके र बर्दिया जिल्लासमेत गरी २० जिल्लामा नेटवर्क फाइवर विस्तार गरिने छ।
सो आयोजनाअन्तर्गत करिब २४०० किमि इबर नेटवर्कमा अन्डरग्राउण्ड एडीएसएस फाइवर तथा बुरेइड क्याबल (डिबीसीसी) विस्तार गरिनेछ। मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग र हुलाकी राजमार्गमा नयाँ निर्माण गरिने अप्टिकल फाइवर नेटवर्क न्यूनतम ९६ कोर हुनुका साथै जिल्ला सदरमुकाम र नगरपालिकासम्म क्रमशः न्यूनतम ४८ र २४ कोरको अप्टिकल फाइवर नेटवर्क विस्तार गरिनेछ।
ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी नेपाल टेलिकमबाट निर्माण एवं सञ्चालन हुने सो अप्टिकल फाइवरमा पूर्वाधार डिजिटल नेपालको लागि मेरुदण्डको रुपमा सूचना महामार्ग निर्माण हुने छ। यसका साथै उक्त पूर्वाधार प्रयोग गरी ठूला पूर्वाधारमा हुने दोहोरो लागानी न्यूनीकरणसमेत भई दूरसञ्चार सेवालगायत सस्तो, भरपर्दो र सर्वसुलभ बनाउन योगदान पुर्याउनेसमेत अपेक्षा गरिएको छ।
सो कार्यका लागि सम्भव हुने सम्पूर्ण बोलपत्र तीन महिनाभित्र प्रकाशन गरिने छ। टेलिकमले कन्ट्र्याकबाट सो सम्झौता गरेको दुई वर्ष्भित्र पूर्वाधार निर्माण गरिसक्नुपर्ने छ। सोही अवसरमा निर्देशक अधिकारीले तोकिएकै समयमा गुणस्तरीय ढङ्गबाट जनतालाई लाभ हुने गरी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस