एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस विंगर ड्यानी ओल्मोलाई अनुबन्धन गर्न क्रोएसियाको डिनामो जाग्रेबसँग औपचारिक प्रस्ताव अगाडि सारेको छ।
सन् २०१४ सम्म बार्सिलोनाको ला मासियामा नै रहेका ओल्मो १७ वर्षको उमेरमा जाग्रेब गएका थिए। त्यसयता उनले क्रोएसियाकै क्लबमा रहेर आफ्नो करीअर अगाडि बढाए। उनले त्यसबीचमा स्पेनको उमेर समूहको टोलीबाट पनि लगातार खेलिरहे। गतवर्ष युरो यू–२१ च्याम्पियनसिपको फाइनलमा ओल्मोले जर्मनीविरुद्ध विजयी गोल गरेका थिए।
ओल्मोले जारि सिजनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनको च्याम्पियन्स लिगको प्रदर्शनबाट प्रभावित भएर नै उनले स्पेनको सिनियर टोलीबाट डेब्यु गर्ने अवसर पाएका थिए। उनले माल्टाविरुद्ध डेब्यु खेलमा नै गोल गर्दै उत्कृष्ट सुरुवात पनि पाए।
जाग्रेबले बार्सिलोनाबाट कम्तिमा ४० मिलियन युरोको अपेक्षा राखेको छ। ओल्मो आफैं पनि आफ्नो करिअर अगाडी बढाउन बार्सिलोना आउन चाहन्छन्। ‘म खुसी छु कि बार्सिलोनाले मलाई अनुबन्ध गर्न चाहेको छ। मैले त्यहाँ रहेर ६ वर्ष ला मासियामा प्रशिक्षण गरें,’ उनले थपे, ‘ मलाई थाहा छैन म अहिले जान्छु वा सिजन सकिएपछि जान्छु। तर मेरो विचारमा यो समय जाग्रेब छोडेर बार्सिलोना जानु उचित छ।’
ओल्मोले जनवरीमै बार्सिलोना जान पाएको अवस्थामा युरो २०२० खेल्ने सम्भावना बलियो हुने आशा व्यक्त गरेका छन्। ‘मेरो लक्ष्य अब स्पेनबाट युरो खेल्नु हो। जाग्रेबमै रहेर मेरो त्यो लक्ष्य पूरा हुन कठिन देख्छु। मेरो करिअर अगाडी बढ्न पनि बार्सिलोना जान उचित हुनेछ,’ ओल्मोले बताए।