लाहान– विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट पीडित सिरहा कारागारका कैदीबन्दीलाई आज बिहान जिल्ला प्रशासन कार्यालय सिरहाले कम्बल वितरण गरेको छ। कारागारमा कैदीबन्दी जीवन बिताईरहेका २५ जना महिला र २५ जना पुरुषलाई चिसो छल्न कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
त्यस्तै चिसोबाट पीडित सिरहाको गोलबजार नगरपालिका वडा नंम्बर ७ का २५० जना ज्येष्ठ नागरिक तथा एकल महिलालाई नगरपालिकाले न्यानो कपडा र खाजा वितरण गरेको छ। सो वडाका ९५ जना ज्येष्ठ नागरिक, ४३ जना दलित ज्येष्ठ नागरिक, ९९ जना एकल महिला गरी २५० जनालाई कम्बल प्रदान गरेको वडा अध्यक्ष जगतकुमार श्रेष्ठले जानकारी दिएका छन्।
सो अवसरमा उपस्थित ज्येष्ठ नागरिक तथा एकल महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको वडाअध्यक्ष श्रेष्ठले बताएका छन्। यसअघि सिरहा नगरपालिका र बिष्णुपुर गाउँपालिकाले पनि विभिन्न वडाका ३०० भन्दा बढी ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको थियो।
त्यस्तै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले पनि वडा नम्बर १ देखि ६ वटाका ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई कम्बल बितरण गरेको छ भने स्थानीय स्तरमा आगो समेत बालेको छ। चिसो र शितलहर शुरु भएसँगै सिरहामा स्थानीय तह र स्थानीय प्रशासनले सक्रियता बढाएका छन्।
स्थानीय तह र स्थानीय प्रशासनले सक्रियता बढाएपछि यसवर्ष सिरहामा चिसोका कारण अहिलेसम्म कुनै मानवीय क्षति नभएको स्थानीयले बताएका छन्। विगत वर्षहरुमा चिसोले कठ्याग्रिएर ज्येष्ठ नागरिक र विपन्न परिवारका सदस्यको मृत्यु हुने गरेको थियो। तर, यसवर्ष स्थानीय तहसँगै स्थानीय प्रहरी प्रशासनले न्यानो कपडा वितरण तथा आगो बाल्ने प्रबन्ध मिलाएपछि मानवीय क्षति घटेका समाजसेवी सत्रुधन चौधरीको भनाइ छ। (रासस)