काठमाडौं– गत चैतमा भएकोे लगानी सम्मेलनमा प्रस्तुत १४ परियोजनाको पूर्वयोग्यता मूल्यांकन सम्पन्न भएको छ। लगानी बोर्डले ११ खर्ब ८८ अर्ब बराबरको ती परियोजनाको सम्भावित लगानीकर्ताको सूची तयार पारेको हो।
नेपाल लगानी सम्मेलन २०१९ मा ५० ओटा सार्वजनिक परियोजना सोकेस गरिएको थियो । त्यसैबाट १४ परियोजनाका लगानीकर्ता छनोटले गति पाएको हो।
तीमध्ये ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत छनोट भइसकेको बोर्डले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दियाे।
बोर्डले प्रदेश १ को दमकमा करीब ६४ अर्ब ६१ करोड रुपैयाँ लागत रहेको चाइना–नेपाल फ्रेन्डसिप पार्क निर्माणका लागि समेत समझदारी गरेको छ।
यसैगरी विराटनगर, वीरगञ्ज र भैरहवामा निर्माण हुने करीब रू.१३ अर्ब कुल लागतको मल्टिमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि दुई छुट्टाछुट्टै कम्पनीसँग समझदारीमा पत्र हस्ताक्षर भएको बोर्डले बताएको छ।
बोर्डले निकट भविष्यमा जारी हुने सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली लगायत विभिन्न कार्य्विधि तथा निर्देशकाले आफ्ना अरू प्राविधिक तथा प्रशासनिक प्रक्रियालाई थप सरल र प्रभावकारी बनाउने दाबी पनि गरेको छ।