काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौँदेखि कर नतिरेको समाचार नयाँ पत्रिका दैनिकमा छ। दमक नगरपालिका– ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ।
गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागू भएको थियो। तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजस्व शाखाले जानाएको छ। चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ।
हिमालय–महालक्ष्मी टी गार्डेन प्रालिले सञ्चालन गरेको चिया बगानभित्र काठका धेरै संरचना छन्। जहाँ पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको ‘मिनी दरबार’ पनि छ। यो दरबारमा पूर्वराजा ज्ञानेन्द्र प्रत्येक वर्ष आउने गर्छन्। गत बुधबार पनि उनी बगानमा आएका थिए। हिमालय–महालक्ष्मी टी गर्डेनलाई दमक नगरपालिकाले कर तिर्न पटक–पटक ताकेता गरेको छ, तर उठाउन सकेको छैन।
‘हामीले पटक–पटक ताकेता गरेका छौँ। धेरैपटक पत्र काटेका छौँ,’ मेयर रोमनाथ ओली भन्छन्, ‘यहाँ (गार्डेनमा) भएका कर्मचारीसँग कुरा गर्दा ठूलो रकम छ, हामीले सक्दैनौँ, माथि भन्नुपर्छ भन्छन्। नगरपालिकाले पूर्वराजालाई चिन्दैन। यो त कम्पनीको नाममा छ। हामी कम्पनीलाई मात्रै चिन्छौँ।’